काठमाडौँ । रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा घरभित्रै पुरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। २२ वर्षीया तरिमा खातुनको शव कोठाभित्र गाडिएको अवस्थामा फेला परेको हो ।
खातुनको सोमबार राति हत्या गरि भुस राख्ने कोठाभित्र गाडिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ । घटना बाहिरिएपछि घरका सबै सदस्य फरार रहेको प्रहरीले जनाएको छ । खातुनको हत्या गरिएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको बताइएको छ।
प्रहरीका अनुसार मृतकको टाउको पछाडि धारिलो हतियार प्रहार गरी गहिरो चोट पुर्याइएको छ भने दाहिने खुट्टामा नीलडाम भेटिएको छ। मृतकको शरिरमा रहेको चोटले उनको हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार घटनामा परिवारकै सदस्यहरू संलग्न हुनसक्ने प्रहरीको अनुमान छ। घटनापछि खातुनका ससुरा शेष अली महम्मदसहित परिवारका सबै सदस्य फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीले परिवारका सदस्यहरू फरार भएकाले हत्या नै भएको आशंकामा अनुसन्धान तीव्र पारिएको बताए। ‘घटनामा संलग्न हुनसक्ने व्यक्तिहरूको खोजी भइरहेको छ,’ उनले भने, ‘उनीहरू पक्राउ परेपछि घटनाको वास्तविकता स्पष्ट हुनेछ।’
यस घटनासँगै खातुनका डेढ वर्षीय छोरा मोहम्मद आरिफलाई समेत वेपत्ता पारिएको प्रहरीको भनाई छ । उनका श्रीमान् शेख आदिल भने वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन्।
गत कार्तिक १८ गते खातुनका श्रीमान् आदिल साउदी अरब गएका थिए । सोही दिन खातुन गुजरा नगरपालिका–७ पल्टुवा स्थित माइतीघरमा भतिजा शेष गूडुसँग बसेकी भन्दै उनलाई छिमेकीले समातेर इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाएका थिए।
त्यसपछि खातुनका ससुरा शेष अली महम्मदले प्रहरीबाट छुटाएर घर लगेका थिए। घर लगेको २० दिनपछि खातुनको हत्या भएको बताइएको छ ।