काठमाडौँ । नेपाली कांग्रेसमा महाधिवेशनको पक्षमा रहेका नेताहरूको भेला काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा जारी छ। कांग्रेसका वरिष्ठ नेता ओमकार श्रेष्ठको अध्यक्षतामा बसेको विशेष भेलामा उपस्थित नेताहरूले आ-आफ्ना धारणा राखिरहेका छन्।
भेलामा बोल्ने अधिकांश नेताहरुले विशेष महाधिवेशन आवश्यक रहेको बताएका छन् । कांग्रेसको १४औँ महाधिवेशनका २ हजार ४ सय ८८ प्रतिनिधिबाट संकलित विशेष महाधिवेशनको माग राखी गरिएको हस्ताक्षर असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो। सोही मागलाई दबाबपूर्ण रूपमा अघि बढाउने उद्देश्यले नेताहरूले भेला आयोजना गरेका हुन्।
यसअघि असोज २८ गतेदेखि शुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले विशेष महाधिवेशनको मिति टुंगो लगाउन सकेको छैन। सरकारले फागुन २१ गतेका लागि तोकेको निर्वाचनअघि महाधिवेशन गर्ने कि पछि गर्ने भन्ने विषयमा पार्टीभित्र मतभेद उत्पन्न भएको छ। यही विषयमा थप छलफल गर्न बिहीबार केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ।
उक्त बैठकको पूर्वसन्ध्यामा विशेष महाधिवेशन पक्षधर नेताहरूले राष्ट्रियसभा गृहमा भेला गरेका हुन्। महाधिवेशन पक्षधरहरुको भेलाले पार्टी फुटको संघारमा रहेको कतिपयले अड्कल गरेका छन् ।
