
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सर्वोच्च अदालतमा भएको आगजनीमा संलग्न रहेको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति विष्णु ढुंगेल पक्राउ परेका छन्। कानुनका बिद्यार्थी समेत रहेका ढुंगेल बुधबार चितवनको भण्डाराबाट पक्राउ परेका हुन्।
जेनजी आन्दोलनपछि सार्वजनिक भएको एक भिडियो प्रमाणका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको संयुक्त टोलीले ढुंगेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
ढुंगेलले स्वयं सर्वोच्च अदालत जलाउन उक्साहट गरेको र त्यहाँ पुगेको भिडियो सार्वजनिक भएको थियो ।
घटनाबारे अनुसन्धान सुरु गर्न सर्वोच्च अदालतले प्रहरीमा जाहेरी दिएको थियो। सोही जाहेरीका आधारमा प्रहरी ५ जनालाई यसअघि नै पक्राउ गरिसकेको छ।
ढुंगेललाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइँदै गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।