हङ्कङको आवासीय टावरमा भीषण आगलागी, ४४ जनाको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौँ । हङ्कङको ताइ पोस्थित ‘वाङ फक कोर्ट’ आवासीय परिसरमा बुधबार दिउँसो लागेको भीषण आगलागीले कम्तीमा ४४ जनाको ज्यान गएको छ। ४० जनाको घटनास्थलमा र चार जनाको अस्पतालमा मृत्यु भएको बताइएको छ ।

घटनापछि २७९ जनाभन्दा बढी बेपत्ता रहेको र ६० भन्दा बढी घाइतेको उपचार भइरहेका स्थानीय अधिकारीहरूले बताएका छन्।

आगो दिउँसो करिब २ः५१ बजे टावरको बाहिरी भागमा गरिएको नवीकरणका क्रममा राखिएको बाँसको स्काफोल्डिङ र प्लास्टिक जालीबाट सुरु भएको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ। आगो छोटो समयमा नै माथिल्लो तल्लासम्म फैलिएको बताइएको छ ।

आगो लागेको समयमा धेरै मानिस आवासीय टावरभित्रै फसेको अनुमान गरिएको छ। केही तल्लामा धुवाँ अत्यधिक बाक्लो भएपछि उद्धार टोली धाराप्रवाह रुपमा अघि बढ्न नसकेको अधिकारीहरूको भनाइ छ।

कैयाँै मानिसको उद्धार प्रयासकै क्रममा मृत्यु भएको बताइएको छ। हङ्कङ फायर सर्भिसले घटनालाई फाइभ अल्राम फायर घोषणा गर्दै १२८ दमकल गाडी र ७०० भन्दा बढी उद्धारकर्मी परिचालन गरेको थियो ।

रातभरि सञ्चालन गरिएको उद्धार अभियानपछि आगो नियन्त्रणमा ल्याइएको भए पनि भवनभित्रका केही क्षेत्रमा अझै जोखिम कायम रहेको अधिकारीहरूले बताएका छन्।

आगलागीमा लापरवाही भएको आशंकामा नवीकरण तथा स्काफोल्डिङ कार्यसँग संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। घटना सम्बन्धी प्राविधिक तथा कानुनी छानबिन अघि बढाइएको छ।

३१ तल्ले आठवटा टावरमध्ये धेरै भागमा आगोले क्षति पुर्याएको प्रारम्भिक मूल्याङ्कनले देखाएको छ। प्रभावित परिवारहरूका लागि अस्थायी शिविर सञ्चालन गरिएको छ भने राहत, पानी, खानापानी र प्राथमिक उपचारको व्यवस्था गरिएको छ।

हङ्कङ सरकार तथा चीन सरकारले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै भवन सुरक्षा, स्काफोल्डिङ नियमन, र नवीकरणसम्बन्धी प्रक्रिया पुनरावलोकन गर्ने घोषणा गरेका छन्। विस्तृत क्षति मूल्याङ्कन तथा पुनर्निर्माण योजना तयार पार्ने कार्यसमेत सुरु गरिएको छ।