
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित हुने रानीतिक दलहरूको संख्या १६ पुगेको छ। बिहिबार थप चार राजनीतिक घटक समाहित भएसंगै नेकपामा समाहित हुने पार्टीको संख्या १६ पुगेको हो ।
कात्तिक १९ गते १० वटा घटकबीच एकता गर्दै नयाँ संरचनामा नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएपछि भीम रावलसहित दुुइटा पार्टी थप समाहित भएका थिए। आज थप चार नयाँ घटक समाहित भएपछि नेकपामा एकीकृत दलहरूको संख्या १६ पुगेको छ।
नेकपामा समाहित हुने राजनीतिक दल र समुहको संख्या बढिरहेको नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव गोबिन्द आचार्यले बताए । अन्य पार्टीबाट पनि समाहित हुने क्रम जारी रहेको भन्दै आचार्यले समाहितका लागि दर्जन भन्दा बढी पार्टी र समुहसंग छलफल भइरहेको बताए ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सदस्य समेत रहेका पूर्व मन्त्री महेश्वर गहतराजका अनुसार विप्लब नेतृत्वमा रहेका केही समुह, धर्मेन्द्र बास्तोलानिकट एक समुह नेकपामा प्रवेश गर्ने तयारी भइरहेको छ । यसका लागि निरन्तर छलफल र वार्ता भइरहेको उनले बताए ।
आगामी दिनमा पनि अन्य वामपन्थी तथा समान विचारधाराका समूहहरू नेकपामा समाहित हुने प्रक्रिया जारी रहने उनको भनाई छ ।