पूर्व सभामुख कृष्ण बहादुर महरालाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

दियोपोस्ट संवाददाता

काठमाडौँ । भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । न्यायाधीश अर्जुन प्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलाशले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।

यसअघि जिल्ला अदालत काठमाडौँले असोज २९ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। २०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट (भेप) भित्र लुकाइ ल्याएको सुन तस्करी प्रकरणमा संलग्नताको आरोपमा महराविरुद्ध सीआइबीले अनुसन्धान गर्दै आएको थियो।

महराले भने उक्त प्रकरणमा आफू नलगानीकर्ता र संलग्न नै नभएको दाबी गर्दै आएका छन्। सरकारी वकिलले महराविरुद्ध सङ्गठित अपराध निवारण ऐन र भन्सार ऐन अन्तर्गत मुद्दा दायर गर्दै ८ करोड ५५ लाख २८ हजार रुपैयाँ बिगो मागदाबी प्रस्तुत गरेको थियो।