काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू जेनजी पुस्ताका युवाहरुको अभिभावक बन्न इच्छुक रहेको बताएका छन्। बिहीबार राष्ट्रिय सभागृहमा आयोजित एकता सभामा बोल्दै उनले राष्ट्रवादी जिम्मेवारी र समाजवादको यात्रामा आफूहरू युवा पुस्ताभन्दा कम नहुने दाबी गरे।
उनका अनुसार उमेरले नेता पुराना देखिए पनि देश बचाउने दृढता र समाजवादका लक्ष्य पूरा गर्ने संकल्पमा आफूहरू जेनजीका युवाजत्तिकै ऊर्जावान् छन्।
‘उमेरले हामी उत्तरार्धतिर पुगिसकेका छौँ, तर राष्ट्रप्रतिको कर्तव्य पूरा गर्ने र समाजवादको अभियान अघि बढाउने दृढतामा हामी कुनै जेनजी युवाभन्दा कम छैनौँ,’ उनले भने, ‘हामी अन्तिम क्षणसम्म अभिभावकको भूमिका निभाउन चाहन्छौँ। जेनजी युवाहरूको शक्ति पनि जोडेर समाजवादी क्रान्ति पूरा गर्ने हाम्रो इच्छा छ।’
प्रचण्डले आफू पदका लागि आकर्षित भएको आरोप नगर्न आग्रह पनि गरे। ‘यस्तो कुरा गर्दा पदमै बसिरहन खोजेको भनेर आरोप लाग्छ। तर हामीलाई पद रहिरहनैपर्छ भन्ने छैन,’ उनले स्पष्ट पारे, ‘सक्रिय राजनीतिमा बस्न मिल्ने वातावरण रहे पर्याप्त छ, पद हामीका लागि मुख्य कुरा होइन।’
यसैबीच, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)का राजेन्द्र कुमार श्रेष्ठ नेतृत्वको समूहबीच बिहीबार एकता घोषणा गरिएको छ। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा १० बुँदे सहमतिपत्रमा दुवै पक्षले हस्ताक्षर गरे।
सहमतिपत्रमा देशलाई समाजवादतर्फ अघि बढाउने, संविधान संशोधनमार्फत शासकीय व्यवस्था परिवर्तन गर्ने, र ‘नेपाली विशेषताको समाजवाद’ लाई एकीकृत पार्टीको मूल कार्यक्रम बनाइने उल्लेख छ। साथै, पहिचान र अधिकारसहितको संघीय समाजवादी गणतन्त्रको रणनीतिक लक्ष्य हासिल गर्न सडक, सदन र सरकारबाट एकसाथ संघर्ष चलाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
संगठन व्यवस्थापनमा पार्टीलाई सामूहिक नेतृत्व र समावेशी संरचनाका आधारमा अघि बढाइने बताइएको छ। जसपाका केन्द्रीय संरचना यथावत् राख्दै सहमतिका आधारमा समायोजन गर्ने, दुवै पार्टीका कार्यकर्ताको जिम्मेवारी मिलेर बाँडफाँट गर्ने र बाँकी मतभेद एकता महाधिवेशनमार्फत समाधान गर्ने सहमति भएको छ।
सहमतिपत्रमा नेकपातर्फबाट संयोजक प्रचण्ड र सह–संयोजक माधवकुमार नेपाल तथा जसपा एकीकृत पक्षका तर्फबाट राजेन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन्।