दलित प्रतिनिधिसंगको भेटमा प्रचण्डले भने- ‘हामी बिग्रिएका थियौँ, अब सुध्रिन्छौँ’

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिगतमा दलितका मुद्धा संवोधन गर्न नसकेको बताएका छन् । बिहीबार सातदोबाटोस्थित प्रचण्ड निवासमा पुगेको ‘दलित गोलमेच’को टोलीलाई संवोधन गर्ने क्रममा प्रचण्डले विगतमा दलित समुदायका मुद्दाप्रति बेवास्ता गरेको स्वीकार गरेका हुन् ।

भेटका क्रममा दलित गोलमेचको टोलीको नेतृत्व गरिरहेका पूर्वराजदूत डा. निर्मल बिश्वकर्माले प्रचण्डले दलितका मुद्धा बिर्सिएको भन्दै गुनासो गरे ।

डा. बिश्वकर्माले प्रचण्डप्रति लक्षित गर्दै विगतमा माओवादीले उठाएका ‘दलित मुक्ति’ र ‘समावेशीता’को एजेन्डालाई समयक्रममा छाड्दै गएको, दलित समुदायको विशेष अधिकारका विषयहरूमा बेवास्ता गरेको तथा माओवादी नेतृत्वको सरकारमा समेत दलित मन्त्री नबनाएको आरोप लगाए ।

‘पटक पटक माओवादी सरकारमा सहभागी भएको छ । तर एक जना पनि दलितलाई मन्त्री बनाउन सक्नु भएन । तपाई आफैले बनाएको मन्त्री मण्डलमा दलितलाई सहभागी गराउन किन सक्नु भएन?’ उनले प्रश्न गरे ।

प्रचण्ड भारत भ्रमणमा रहँदा गेरु वस्त्र लगाएको प्रसंग उठाउँदै डा. बिश्वकर्माले भने, ‘आशा गरेका ब्यक्तिबाटै यस्तो कृयाकलाप हुँदा दलितहरु निराश भएका छन् । आफैले उठाएको ‘बिशेष अधिकार’ र ‘दलित मुक्ति’को सवालबाट तपाईहरु टाढा हुनु भयो, त्यसमा हाम्रो पनि चित्त दुखाई छ ।’

आफूमाथि उठेका प्रश्न र आरोपप्रति प्रतिक्रिया दिँदै प्रचण्डले ती आरोप ‘सत्य’ भएको स्वीकार गरे। शान्ति प्रक्रियापछि आफूहरू विभिन्न राजनीतिक तथा व्यवस्थापकीय झमेलामा परेका कारण कतिपय मुद्दा ओझेल परेजस्तो देखिएको उनले बताए।

प्रचण्डले भने, ‘तपाईंहरूले उठाउनु भएको सवाल जाहेज छ। हामी कहीं न कतै बिग्रिएकै हौँ। हामीलाई बिग्रिने छुट थिएन। दलित समुदायको आशा र भरोसा पनि टुट्न गएकै हो। त्यो हामीले पनि रियलाइज गरिहरेका छौँ।’

प्रचण्डले शान्ति प्रक्रियापछि आफूहरू राजनीतिक संक्रमणका विविध गतिविधि, सरकार सञ्चालनका चाप, पार्टीभित्रका विभाजनका कारण ‘मुख्य मुद्दा’ हराउन पुगेको जस्तो देखिएको बताए।

उनले भने, ‘दलितका मुद्दाबाट टाढा हुन खोजेको होइन। तर घटनाक्रमहरूले टाढा भएजस्तो देखायो। अब फेरि स्पष्ट एजेन्डासहित अगाडि बढ्नैपर्छ। हामी अगाडी बढिसकेका छौँ ।’

सो अवसरमा संया्जक प्रचण्डले दलित गोलमेच टोलीले उठाएको सवालमा आफु सकारात्मक भएको भन्दै दलित समुदायका अधिकार, समानता र राजनीतिक उपस्थितिलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।

उनले दलित समुदायप्रति विगतमा भएको ‘भावनात्मक र राजनीतिक दूरी’ हटाउएँदै दलित समुदायसंग सहकार्य गर्न तत्पर रहेको धारणा व्यक्त गरे ।

सो अवसरमा ‘दलित गोलमेच’को टोली र प्रचण्डबीच फरक राजनीतक परिस्थिति र राजनीतिक भविष्यका बारेमा बृहद छलफल भएको थियो ।

सिफारिस