भक्तपुर । मिड भ्याली माध्यमिक विद्यालय कलेजले दोस्रो अन्तर विद्यालय विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी २०८२ को आयोजना गरेको छ। मध्यपुरठिमी स्थित कलेज प्राङ्गणमा आयोजित प्रदर्शनीमा उपत्यका भित्रका ६७ वटा विद्यालयका विद्यार्थीद्वारा निर्मित ९३ वटा उपकरण एवं सामाग्रीहरू प्रदर्शनीमा राखिएको हो।
प्रर्दशनी मंसिर ११ र १२ गते दुई दिनसम्म सञ्चालन भएको थियो । उक्त प्रदर्शनीमा १० हजार भन्दा बढी विद्यार्थीले अवलोकन गरेका छन् ।
प्रर्दशनीमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विज्ञान र सूचना प्रविधि तर्फको नविनम प्रयोगलाई जोड दिदैँ निर्माण गरेका स्मार्ट सिटी, वाटर सिस्टम, वाटर पोलुसन, स्मार्ट होम लगायतका विभिन्न उपकरण एवं सामाग्रीहरू प्रदर्शन गरिएको छ।
कार्यक्रमका प्रमुख अथिति प्रा.डा. रामेश्वर अधिकारीले यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई शैद्धान्तिक ज्ञान मात्र नभई व्यवहारिक ज्ञान प्रदान गर्नुका साथै विज्ञान तथा प्रविधि तर्फको अन्वेषणमा उत्प्रेरणा जगाउन मद्धत पुग्ने बताए।
यस खालको कार्यक्रम शहरी क्षेत्रमा मात्र नभई ग्रामिण क्षेत्रका विद्यालय तथा कलेजहरुमा समेत आयोजना गर्न जरुरी रहेको उनले बताए । सरकारले पनि यस खालको प्रर्दशनीलाई प्राथमिकता दिन आवश्यक रहेको भन्दै डा. अधिकारीले शिक्षा मन्त्रालयले विज्ञान तथा प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखेको जानकारी दिए ।
मन्त्रालयले अझै विशेष योजना ल्याएर विद्यार्थीहरुमा व्यवहारिक ज्ञान प्रदान गर्नु पर्ने र भावी पुस्तालाई विज्ञान तथा प्रविधि क्षेत्रमा योग्य बनाउनु आजको आवश्यकता रहेको उनको भनाई छ ।
सूर्यविनायक नगरपालिकाका शिक्षा शाखा प्रमुख रत्न कटुवालले साना साना उमेरका विद्यार्थीहरुले दैनिक रुपमा प्रयोग हुने उपकरणहरुलाई फरक रुपमा प्रदर्शनी गरेको बताए। यसखालको प्रर्दशनी मिडभ्याली लगायतका अन्य विद्यालयले पनि आयोजना गर्न जरुरी रहेको भन्दै उनले विभिन्न विद्यालयका विद्यार्थीहरुलाई यस प्रर्दशनीमा सहभागी भई जानकारी लिन समेत आग्रह गरे।
यस्तै मिड भ्याली कलेजका निर्देशक कमल अर्यालले विद्यार्थीहरुको सिर्जनात्मक क्षमता अभिवृद्धि र व्यवहारिक शिक्षालाई विशेष जोड दिने उदेश्यले यस प्रर्दशनीको आयोजना गरिएको बताए।
उनले कलेजले एक वर्ष अगाडि गरेको यसखालको प्रदर्शनीले विद्यार्थीहरुमा सकारात्मक प्रभाव पारेको बताउँदै सूर्यविनायक नगरपालिका समेत प्रभावित भई नगरपालिका स्तरको पर्दशनी आयोजना गर्न लागेको जानकारी दिए।
यस प्रदर्शनीमा सहभागी भएका विद्यालयका विद्यार्थीले आफूले सोचेको भन्दा पनि नव अन्वेषणमुलक सूचना प्रविधिका उपकरणहरु उत्पादन गरेको उनको भनाई छ ।
प्रदर्शनीमा उत्कृष्ट उपकरण एवं सामाग्री निर्माण गर्ने तीनवटा विद्यालयको टिम र एउटा सबैभन्दा बढी भोट पाउने टिमलाई पुरस्कृत गरिने मिडभ्यालीले जनाएको छ। प्रदर्शनी प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, दोस्रोलाई २० हजार र तेस्रोलाई १० हजार पुरस्कार प्रदान गरिने बताइएको छ ।
मिड भ्याली कलेजले यस्ता क्रियाकलापमा जोड दिदैँ आगामी दिनमा पनि यस्ता कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई खोज अनुसन्धान तर्फ थप उत्प्रेरित गर्ने जनाएको छ।
