काठमाडौं। बिदेशमा रहेका नेपालीले समेत त्रिभुवन विश्वविद्यालयमा पढ्न पाउने भएका छन् । त्रिविले विदेशमा रहेका नेपाली विद्यार्थीलाई क्याम्पसकै माध्यमबाट अनलाइन कक्षा उपलब्ध गराउने भएको हो ।
विश्वविद्यालयले सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रममा विदेशी भूमिमा रहेका नेपालीलाई लक्षित अनलाइन शिक्षालाई समावेश गरेको छ ।
उपकुलपति दीपक अर्यालले प्रयोगात्मक कक्षा आवश्यक नपर्ने विषयहरू अनलाइनमार्फत सञ्चालन गरि विदेशमा रहेका नेपाली विद्यार्थीलाई पढ्ने वातावरण मिलाइने बताए ।
विदेशमा रहेर अध्ययन गर्ने विद्यार्थीको परीक्षा भने सम्बन्धित देशस्थित नेपाली दूतावासको सहकार्यमा भौतिक रूपमा लिइने उनको भनाई छ । यस्तो अध्ययन पूरा गरेर शैक्षिक उपाधिसहित स्वदेश फर्किँदा विद्यार्थीहरूले आर्थिक र शैक्षिक दुवै रूपमा लाभ लिन सक्ने उपकुलपति दीपक अर्यालले जानकारी दिए ।