काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा चुनाव पूर्ण शान्तिपूर्ण बनाउन सुरक्षा निकायलाई कडा निर्देशन दिएकी छन्। नेपाली सेनाको जंगी अड्डा निरीक्षण गर्ने क्रममा प्रधानमन्त्री कार्कीले फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचन भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न निर्देशन दिएकी हुन् ।
अघिल्ला निर्वाचनका अनुभव र वर्तमान सुरक्षा आवश्यकता मूल्यांकन गर्दै प्रधानमन्त्री कार्कीले सबै सुरक्षा निकायबीच पूर्ण समन्वय र त्रुटिरहित ढंगले काम गर्न सेनालाई आग्रह गरिन्। उनले भनिन्, ‘चुनावमा एक थोपा रगत बग्नु हुँदैन, एक जना पनि घाइते हुनु हुँदैन।’
जेनजी आन्दोलनका क्रममा लुटिएका वा हराएका हतियारहरूको खोजी तथा नियन्त्रणमा प्रहरीसँग सहकार्य गर्न समेत उनले निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले फरार अपराधी पक्राउ गर्न र सुरक्षा स्थिति सामान्य बनाउन कुनै कसर बाँकी नराखी सहयोग गर्न आग्रह गरिन् ।
जनताको सुरक्षाप्रति भरोसा कायम गर्ने, प्रहरीको कारबाहीलाई सहज र सुरक्षित बनाउने तथा राजनीतिक गतिविधि निर्बाध सञ्चालन हुने वातावरण बनाउने लक्ष्यसहित स्पष्ट कार्ययोजना तयार गर्न उनले सेनालाई निर्देशन दिइन् ।
प्रधानमन्त्री कार्कीले आन्दोलनपछि बनेको सरकारको प्रमुख दायित्व शान्ति-सुरक्षा बहाली र फागुन २१ गते हुने प्रतिनिधिसभा चुनाव सफलतापूर्वक सम्पन्न गर्नु रहेको उल्लेख गरिन्। उनले नेपाली सेनाले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्ने विश्वास व्यक्त गरिन्।
सो अवसरमा नेपाली सेनाले वर्तमान सुरक्षा अवस्था, चुनौतिहरू तथा निर्वाचन सुरक्षासम्बन्धी योजना र संरचनाबारे विस्तृत ब्रिफिङ प्रस्तुत गरेको थियो।