
काठमाडौँ । पत्रकार एवं लेखक दिपेन्द्र शर्माद्वारा लिखित ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ । आज राजधानीमा आयोजित विशेष समारोहमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पुस्तक विमोचन गरे।
समारोहमा अध्यक्ष दाहालले जनयुद्धकालीन पत्रकारिताको भूमिकाबारे चर्चा गर्दै त्यस समयका अनुभव र संघर्षले प्राप्त राजनीतिक उपलब्धिहरूलाई मजबुत बनाउँदै अघि बढ्न पुस्तकले प्रेरणा दिने विश्वास व्यक्त गरे । उनले यस कृतिलाई ‘युद्धको ऐना’को रूपमा वर्णन गरे ।
उनले भने, ‘पत्रकारिता आफैंमा चुनौतीपूर्ण पेशा हो । युद्धको बीचमा पत्रकारिता गर्नु भनेको झनै कठिन कार्य थियो ।
’
दिपेन्द्र शर्माद्वारा लेखिएको उक्त पुस्तक युद्धकालको महत्वपूर्ण ऐतिहासिक दस्तावेज बनेको अध्यक्ष दाहालको भनाई छ ।
सो अवसरमा अध्यक्ष दाहलले जनयुद्धका दिनहरू सम्झिँदै जाजरकोटमा बिताएका तीन वर्ष, त्यहाँका भूमिगत गतिविधि र सञ्चारका कठिन परिस्थितिहरू पुस्तकले जीवन्त रूपमा प्रस्तुत गरेको बताए ।
‘हामीले दिल्लीबाट ‘नेपाल आवाज’ नामक पत्रिका निकाल्थ्यौँ, जाजरकोटका डाँडाकाँडा चढेर रेडियो गणतन्त्रको एन्टेना जडान गर्थ्यौँ । लडाइँ र पढाइ, बारुद र मसीको मिश्रणबाट प्राप्त परिणाम नै आजको गणतन्त्र हो भन्नेमा गर्व लाग्छ,’ दाहालले भने ।
पुस्तकका बारेमा ब्याख्या गर्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले ‘युद्ध पत्रकारिता’ इतिहासका संवेदनशील अध्यायहरू समेटिएको कृति भएको बताइन् । उनले युद्धको समयमा कलम समात्ने पत्रकारहरूले भोगेका जोखिम, चुनौती र सफलतालाई पुस्तकले प्रमाणिक रूपमा दस्तावेज गरेको बताए ।
कार्यक्रममा बोल्दै प्रेस सेन्टरका संस्थापक अध्यक्ष महेश्वर दाहालले पुस्तक नेपालको महत्वपूर्ण ऐतिहासिक कालखण्डलाई समेट्ने मूल्यवान कृति भएको भन्दै प्रशंसा गरे ।
सो अवसरमा लेखक शर्माले युद्ध पत्रकारिता गर्दाका अनुभवलाई दस्तावेजीकरण गरेको बताए । लेखक शर्मा १४ वर्षको उमेरदेखि जनयुद्धमा सक्रिय भई युद्ध पत्रकारिता गरेका ब्यक्ति हुन् ।
उनले यस पुस्तकमार्फत युद्धकालीन पत्रकारिताबाट संकलित आफ्ना अनुभवलाई सार्वजनिक गरेका छन् । यो उनको दास्रो पुस्तक हो । ७ अध्यायमा विभाजित पुस्तकमा युद्धकालीन पत्रकारिताको विस्तृत विश्लेषण गरिएको समीक्षकहरूले बताएका छन् ।
मिसन पत्रकारिता, भूमिगत सञ्चार, वैचारिक संघर्ष तथा जनयुद्धका विभिन्न गतिविधिहरूको विस्तृत दस्तावेज पनि पुस्तकमा प्रस्तुत गरिएको छ ।







