काठमाडौँ । नेकपा एमाले बैतडी पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले पार्टीबाट राजिनामा दिएका छन् । महाधिवेशन प्रतिनिधि नबनाएको भन्दै उनले पार्टी परित्याग गरेका हुन् ।
उनले आइतबार फेसबुकमार्फत लामो स्टाटस सार्वजनिक गर्दै आफ्नो जिम्मेवारी लिलाधर भट्ट, बिना भट्ट र रामसिंह पुजारिलाई हस्तान्तरण गर्दै आफू एमालेबाट बाहिरिएको घोषणा गरे ।
उनले एमाले जिल्ला नेता लिलाधर भट्टले आफूलाई कमजोर पार्न निरन्तर ‘जालझेल’ र ‘तानाबुना’ बुनेको आरोप लगाएका छन्। महाधिवेशन प्रतिनिधिमा सहभागी हुन नदिनु त्यसैको उदाहरण भएको उनको दाबी छ।
हालसालै राप्रपाबाट आएका वडा अध्यक्ष रामसिंह पुजारालाई समेत आफ्नो विरुद्ध परिचालित गरिएको उनले उल्लेख गरेका छन्। ‘पार्टीभित्रको चरम गुटबन्दी, चाकरी, चापलुसी र झोले प्रवृत्तिले स्वाभिमानी कार्यकर्ताहरू उकुसमुकुस बनिरहेको छ,’ उनले बताएका छन् ।
निरङ्कुशताविरुद्ध आवाज उठाएबापत पटक–पटक कारबाही झेल्नुपरेको बताउँदै उनले तल्लो स्वराडका कार्यकर्ताहरूलाई नेतृत्वमा नआउने वातावरण बनाइएका कारण आफू जस्ता नेताका लागि पार्टीमा बसिरहन नसक्ने अवस्था आएको उनले स्टाटसमा उल्लेख गरेका छन्।
लिलाधर भट्टलाई मार्ग प्रशस्त गर्न आफू पार्टीबाट बाहिरिएको चन्दले बताएका छन्। पार्टीभित्र साथ दिने सबै नेता र कार्यकर्ताप्रति धन्यवाद व्यक्त गर्दै उनले आगामी यात्रामा पुनः भेट हुने विश्वास व्यक्त गरेका छन्।
चन्दले २०४७ सालदेखि स्वर्गीय उत्तमबहादुर चन्दको प्रेरणामा कम्युनिस्ट आन्दोलनसँग जोडिएको बताएका छन् । आफू काठमाडौं टुडिखेलस्थित तत्कालीन महासचिव मदन भण्डारीको भाषणबाट प्रभावित भई पार्टीमा सहभागी बनेको स्मरण समेत गराएका छन्।
पार्टी जीवनसँगै लामो समय शिक्षा क्षेत्रमा कार्यरत रहेको बताउँदै उनले विद्यालय प्राचार्यदेखि क्याम्पस प्रमुखसम्मको जिम्मेवारी सम्हालेको उल्लेख गरेका छन्। २०७४ सालमा तत्कालीन नेता दामोदर भण्डारी र लिलाधर भट्टको निरन्तर आग्रहमा शिक्षण पेशा छाडेर सक्रिय राजनीतिमा प्रवेश गरेको चन्दले बताएका छन्।
पञ्चेश्वर गाउँपालिकामा लगातार दुई कार्यकाल विजयी गराउन सहयोग गर्ने जनताप्रति आभार व्यक्त गर्दै उनले गाउँ–गाउँमा सडक, विद्युत, खानेपानी, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा काम भएको दाबी गरेका छन्। तर पछिल्ला वर्षमा कामकाज अघि नबढ्नुको कारण पार्टीभित्रको गुटबन्दी र नेतृत्वको गलत हस्तक्षेप भएको आरोप उनले लगाएका छन्।
