पाँच बुँदे सहमति गर्दै ‘रास्वपा’ र ‘विवेकशील साझा’ पार्टीबीच एकता घोषणा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टी बीच औपचारिक एकता घोषणा गरिएको छ। आइतबार काठमाडौंमा आयोजित विशेष कार्यक्रमका बीच पार्टी एकता घोषणा गरिएको हो ।

दुवै दलका शीर्ष नेताहरूले एकीकरणसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेर एकता प्रक्रिया प्रारम्भ भएको घोषणा गरेका छन्।

रास्वपातर्फबाट कार्यबाहक सभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले सहमतिमा हस्ताक्षर गरे भने विवेकशील साझातर्फ अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारले हस्ताक्षर गरे।

दुवै दलले पाँच बुँदामा आधारित सहमतिलाई एकीकरणको आधार बनाएका छन्। सहमतिअनुसार वैकल्पिक राजनीतिको प्रवर्द्धनमा स्वर्गीय उज्वल थापा र ‘विवेकशील अभियान’ को योगदानलाई औपचारिक दस्तावेजमार्फत मान्यता दिइने बताइएको छ।

महाधिवेशनसम्मका लागि गठित ‘विशेष संयन्त्र संघीय नेतृत्व मञ्च’ मा विवेकशील साझाबाट एकतापछि आउने नेताहरूलाई परस्पर समझदारीका आधारमा समावेश गरिने र मञ्चका सदस्यहरूको वरियतालाई केन्द्रीय समिति सदस्यकै सरह मानिने उल्लेख छ।

विवेकशील साझाका सदस्य र सल्लाहकारहरूलाई केन्द्र, प्रदेश र स्थानीय तहका संरचनामा योग्यताअनुसार, समावेशिता र सार्वजनिक छविलाई आधार मानी समुचित रूपमा जिम्मेवारी तोकिने सहमति पनि भएको छ।

एकीकरणपछि दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ भने झण्डा तथा चिन्ह पनि पुरानै  निलो पृष्ठभूमिमा सेतो गोलाकार भित्र निलो घण्टी कायम रहनेछ। चुनाव चिन्ह ‘घण्टी’ नै उपयोग गरिने बताइएको छ।

दुवै दलले निर्वाचन आयोगसम्बन्धी कानूनी प्रक्रिया पूरा गर्न आवश्यक कागजात तयार पार्ने र दलका नाममा रहेका चल–अचल सम्पत्तिको व्यवस्थापन आपसी समझदारीका आधारमा चाँडै सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन्।

सहमतिमा रास्वपाको सिद्धान्त, नेतृत्व र ‘घण्टी’ चुनाव चिन्हमा एकीकृत हुँदै लोकतान्त्रिक सुशासन र समृद्धिका एजेन्डा अघि बढाउन अन्य सुसंस्कृत, परिवर्तनकामी र वैकल्पिक राजनीतिक शक्तिहरूलाई पनि साथ दिन आग्रह गरिएको छ।

सिफारिस