सोलुखुम्बुको फेरिचे हेलिप्याडमा दुई हेलिकोप्टर ठोक्किए, एक विदेशीको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौँ । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा दुईवटा हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको हो ।

दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फिस्टेल एयर र एयर डाइनेस्टीका हेलिकोप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको बताइएको छ । अवतरणका क्रममा दुवै हेलिकोप्टरका पंखा एकआपसमा ठोक्किएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले फेरिचे हेलिप्याडमा दुई हेलिकोप्टरका पंखा ठोक्किएको जानकारी आएको र घटनाबारे थप विवरण संकलन गर्ने काम भइरहेको बताएका छन् ।

सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्ने फेरिचे सगरमाथा पदयात्रा तथा पर्वतारोहणका क्रममा प्रयोग हुने महत्त्वपूर्ण स्थान हो । समुद्री सतहबाट करिब ४ हजार ३७१ मिटर उचाइमा रहेको फेरिचे आसपासको क्षेत्रमा विदेशी पर्यटक, पदयात्री तथा पर्वतारोहीको आवागमन हुने गर्छ ।

सगरमाथा आधार शिविर, लोबुचे तथा आसपासका हिमाली क्षेत्रमा जाने पर्यटकको आवतजावत र आपत्कालीन उद्धारका लागि हेलिकोप्टर सेवा प्रयोग हुँदै आएको छ । उच्च हिमाली भेगमा सडक यातायातको पहुँच सीमित भएकाले बिरामी तथा समस्यामा परेका पर्यटकको उद्धारमा हेलिकोप्टरको महत्त्वपूर्ण भूमिका रहन्छ ।

 

सम्बन्धित खबर

सिफारिस