
काठमाडौँ । होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारले सेन्टरबाहिर सडकमा बसेर खाना खाएका छन् । सरकारले सुकुमबासीलाई दिँदै आएको खाना बिहीबारदेखि नै बन्द गरेपछि आज बिहान खाना लिएर पुगेका अभियन्तालाई प्रशासनले भित्र प्रवेश गर्न नदिएपछि उनीहरूले सडकमा खाना बाँडेका हुन् ।
भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा आश्रय लिइरहेका १९ परिवारका ५६ जनालाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न लिखित निर्देशन दिएको थियो । यसअघि मंसिर ४ गतेदेखि नै मौखिक रूपमा स्थान खाली गर्न भनिएको थियो ।
वैकल्पिक आवासको व्यवस्था नगरी आफूहरूलाई हटाउन खोजिएको भन्दै आश्रित परिवारले बिहीबारदेखि थाल ठटाएर विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरूले सुरक्षित बसोबासको व्यवस्था नभएसम्म होल्डिङ सेन्टर नछाड्ने अडान लिएका छन् ।
विस्थापित परिवारले वैकल्पिक आवास सुनिश्चित नगरी होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका अनुसार बोडेमा आश्रय लिइरहेका १९ परिवारमध्ये १२ परिवारको नाममा हालसम्म जग्गा नभएको पाइएको छ । बाँकी सात परिवारको हकमा तीन पुस्ताभित्र जग्गा रहेको वा जग्गा कारोबार गरेको विवरण भेटिएको प्रशासनले जनाएको छ । भूमिहीन ठहरिएका १२ परिवारका लागि उनीहरूको स्थायी ठेगाना रहेको जिल्लामार्फत जग्गा व्यवस्थापन प्रक्रिया अघि बढाइएको प्रशासनको भनाइ छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार भूमिहीन परिवारलाई एक महिनाको घरभाडाबापत १५ हजार रुपैयाँ उपलब्ध गराउने र यसअघि पुनर्वास व्यवस्थापनका लागि दिने भनिएको २५ हजार रुपैयाँसमेत उपलब्ध गराउने भनिएको थियो । तर प्रभावित परिवारले रकम उपलब्ध गराउँदैमा दीर्घकालीन आवासको समस्या समाधान नहुने बताउँदै आएका छन् ।
काठमाडौँ महानगरपालिका र आसपासका नदीकिनारका बस्तीबाट विस्थापित परिवारको अवस्था झन् दयनीय बनेको छ । हाल इचंगुनारायण, खरिपाटी र बोडेस्थित होल्डिङ सेन्टरमा ९६ परिवारका ३८८ सदस्य सम्पर्कमा रहेका छन् । तीमध्ये इचंगुनारायणमा ४५, खरिपाटीमा ३२ र बोडेमा १९ परिवार छन् । सुरुमा २ हजार ६०८ परिवारका ११ हजार १०५ जनाको लगत संकलन गरिएकोमा डिजिटल सर्वेक्षणबाट २ हजार ८२ परिवारको मात्रै विवरण संकलन भएको थियो ।
होल्डिङ सेन्टरमा बसिरहेका परिवारमध्ये ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी तथा बालबालिकासमेत छन् । पर्याप्त खाना, स्वास्थ्य उपचार, यातायात र सरसफाइको समस्या रहेको उनीहरूको गुनासो छ । कतिपय बिरामीले अस्पतालसम्म पुग्न यातायात खर्चसमेत जुटाउन सकेको छैनन् । पटकपटक स्थानान्तरण गरिँदा बालबालिकाको पढाइ, बिरामीको उपचार र आवश्यक कागजात बनाउने कामसमेत प्रभावित भएको छ ।
गत वैशाख १२ गतेदेखि काठमाडौँ उपत्यकाका विभिन्न नदीकिनार तथा सार्वजनिक जग्गामा रहेका बस्ती हटाउने अभियानका क्रममा विस्थापित भएका परिवारलाई सरकारले विभिन्न अस्थायी होल्डिङ सेन्टरमा राखेको थियो । तर, विस्थापन भएको सात महिना बितिसक्दा पनि धेरै परिवारको स्थायी पुनर्वास हुन सकेको छैन ।