
काठमाडौँ । खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा काठमाडौँबाट ८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौँ महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारबाट उनीहरू पक्राउ परेका हुन् ।
बाख्री तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरी टोलीले बजारमा चेकजाँच गरेको थियो । सो क्रममा ५६७ किलो बाख्रीको मासु दुईवटा गाडीमा लोड गर्दै गरेको अवस्थामा फेला पारेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले मासुसहित बीएडी ५७६० नम्बरको भ्यान र बा।२० च।६३४६ नम्बरको पिकअप गाडीसमेत नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-२ घर भई टेकु बस्ने ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुको सिर्कोट घर भई टुकुचा बस्ने ३२ वर्षीय करण बानियाँ, ललितपुरको महालक्ष्मी नगरपालिका-५ का ५० वर्षीय मनोज थापा, धादिङको गजुरी गाउँपालिका-१ घर भई बागबजार बस्ने २६ वर्षीय सनम तामाङ र सोही ठाउँका २२ वर्षीय राजु लामा रहेका छन् ।
त्यस्तै, काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-३ का २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाको मेलुङ गाउँपालिका-१ घर भई पुतलीसडक बस्ने २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-२ घर भई मैजुबहाल बस्ने २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन् ।
पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।