अपाङ्गता भएका व्यक्तिको ३५औँ अन्तर्राष्ट्रिय दिवस मंसिर १७ गते मनाइने

दियोपोस्ट संवाददाता

काठमाडौँ । अपाङ्गता भएका व्यक्तिको ३५औँ अन्तर्राष्ट्रिय दिवस आगामी मंसिर १७ गते मनाइने भएको छ । अपाङ्गता भएका व्यक्तिको अधिकार, सम्मान, समानता र समावेशी सहभागिताको महत्त्व उजागर गर्दै डिसेम्बर ३ अर्थात् मंसिर १७ गते बिहीबार दिवस मनाउन लागिएको हो ।

यस वर्ष दिवसको अन्तर्राष्ट्रिय नारा ‘२० वर्षे सिआरपिडीको प्रगतिको खोजाइ, समुन्नत भविष्यको रोजाइ’ तय गरिएको छ । उक्त नाराले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि (सिआरपिडी) कार्यान्वयनका क्रममा हासिल भएका उपलब्धिलाई संस्थागत गर्दै आगामी दिनमा अधिकार, पहुँच र समानताका क्षेत्रमा थप प्रगति गर्नुपर्ने सन्देश दिएको छ ।

त्यसैगरी, दिवसका अवसरमा नेपालका लागि राष्ट्रिय नारा ‘अपाङ्गता समावेशी, पहुँचयुक्त र समतामूलक नेपाल निर्माणको आधारः महासन्धि कार्यान्वयनमा सामूहिक प्रयास यसको पूर्वाधार’ तय गरिएको छ ।

राष्ट्रिय नाराले अपाङ्गता समावेशी, पहुँचयुक्त र समतामूलक नेपाल निर्माणका लागि महासन्धिको प्रभावकारी कार्यान्वयन तथा सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको सन्देश दिएको छ ।

अन्तर्राष्ट्रिय दिवसले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न, सामाजिक विभेद हटाउन तथा राज्यका नीति, संरचना र सेवामा समावेशी सहभागिता प्रवर्द्धन गर्नुपर्ने आवश्यकतालाई जोड दिँदै आएको छ ।

×