
रामगढ, भारत । भारतको झारखण्ड राज्यस्थित रामगढ जिल्लामा आइतबार बिहानै मन्दिर दर्शन गर्न हिँडेका तीर्थयात्री चढेको स्कोर्पियो दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । आइतबार बिहान करिब २ बजे राँची–पटना राजमार्गअन्तर्गत राष्ट्रिय राजमार्ग ३३ को पैंकी गाउँनजिक दुर्घटनामा परेको हो ।
दुर्घटनामा एक जना घाइते भएका छन् । उनको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कुज्जु प्रहरी क्षेत्रअन्तर्गत पर्ने उक्त स्थानमा तीव्र गतिमा रहेको स्कोर्पियो अगाडि गइरहेको अर्को गाडीमा ठोक्किएको प्रारम्भिक विवरणमा उल्लेख छ ।
बिहारको नालन्दा जिल्लास्थित जांघारो गाउँका १४ जना स्कोर्पियोमा सवार भएर रजरप्पास्थित माँ छिन्नमस्तिका मन्दिरमा पूजा गर्न जाँदै थिए । दुर्घटनामा उनीहरूमध्ये १३ जनाको ज्यान गएको रामगढका प्रहरी अधिकारीहरूले बताएका छन् । मृतकमाहरुमा महिला, पुरुष तथा बालबालिका रहेका छन् ।
अस्पतालका सिभिल सर्जन अनिल कुमारका अनुसार दुर्घटनामा परेका १४ जनामध्ये १३ जनालाई अस्पताल पुर्याएपछि मृत घोषणा गरिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका एक पुरुषलाई रामगढस्थित सदर अस्पतालमा भर्ना गरिएको छ । घाइतेको अवस्था गम्भीर रहेको र उनलाई सघन उपचार कक्ष (आईसीयू)मा राखिएको समाचारमा उल्लेख छ ।
दुर्घटनापछि ठक्कर दिने अर्को गाडी घटनास्थलबाट फरार भएको प्रहरीले जनाएको छ । उक्त गाडीको पहिचान तथा खोजी भइरहेको छ । प्रारम्भिक विवरणमा स्कोर्पियोले अगाडि रहेको गाडीलाई पछाडिबाट ठक्कर दिएको उल्लेख भए पनि दुर्घटनाको वास्तविक कारण भने खुलिसकेको छैन । तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
यस दुर्घटनाप्रति झारखण्डका राज्यपाल सन्तोष कुमार गंगवार र मुख्यमन्त्री हेमन्त सोरेनले दुःख व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति शोक व्यक्त गर्दै मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट जनही दुई लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।