प्रयास पराजुली
मंसिर ४ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको आन्तरिक किचलोले गर्दा सांगठनिक एकता प्रक्रिया नै प्रभावित बनेको छ । पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समय नदिँदा पार्टीको सांगठनिक एकता प्रक्रिया अन्यौलमा परेको हो ।
शीर्ष नेताहरुको विदेश भ्रमण, अध्यक्षद्वयको व्यवस्ताको कारण पार्टी एकता प्रक्रियापछि महत्वपूर्ण मानिएको सांगठानिक एकता प्रक्रिया अन्यौलतमा पर्दै आएको छ । पार्टीको सांगठानिक एकीकरणलाई टुंगो लगाउन शीर्ष नेतृत्वकै वेवास्था देखिएको छ । पटक–पटक भाका सारिँदै आएको एकता प्रक्रिया झन लम्बिँदै गएपछि नेता तथा कार्यकर्तामा निराशा छाउन थालेको छ ।
पार्टी अध्यक्षद्वय ओली र प्रचण्डले नै एकता प्रक्रियालाई टुंगो लगाउन पर्याप्त ध्यान नदिएको आरोप सचिवालयका नेताहरुले नै लगाउन सुरु गरेका छन् । पार्टीको सांगठानिक एकताको विषय स्थायी समिति बैठकमा छलफल गराउनु पर्ने माग उठे पनि अध्यक्षद्वयले स्थायी समितिको बैठक बोलाउँदै साँर्दै आएका छन् । सचिवालयको बैठक एक दर्जन पटकभन्दा बढी बसे पनि एकताको प्रक्रियाको बारेमा ठोस निर्णय लिन सकेको छैनन् ।
पार्टीको सांगठानिक एकताको प्रक्रियामा जुट्नु पर्ने सचिवालयका नेताहरु नै गुट निर्माण गर्दै आपूm कसरी बलियो बन्ने भन्ने गृहकार्यमा छन् । पार्टी एकताको गृहकार्य गर्नुपर्ने अध्यक्षद्वय ओली र प्रचण्ड पनि आ–आफनै शैलीमा चल्न थालेपछि नयाँ गुट निर्माण गर्नको लागि शीर्ष नेताहरु नै दौडधुपमा लागेका छन् ।
प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष ओलीलाई सरकार सञ्चालनको व्यस्तता हुँदा पार्टीको काममा पर्याप्त समय दिन सकेका छैनन् भने प्रचण्डले अध्यक्ष ओलीबाट जिम्मेवारी पाएका छैनन् ।
पार्टी एकीकरणपछि केन्द्रीय सदस्य र प्रदेशका इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष र सचिव बाहेक पार्टीका अन्य कुनै पनि जिल्ला कमिटी, जनवर्गीय संगठनको एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन । केही जिल्लामा भने शीर्ष नेतृत्वको आशा गर्नु भन्दा स्वःस्फूर्त रुपमा स्थानीय र वडा कमिटीहरुको एकीकरण भएको छ ।
दुई साता अघि प्रदेशको कमिटी, केन्द्रीय सदस्यको कार्यविभाजको जिम्मेवारी सहित गठित दुई सदस्य कार्यदलयले पनि सचिवालय बैठकमा प्रतिवेदन पेश गर्न सकेको छैन । यस अघि बसको सचिवालयको बैठकले महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा सहभागी भएको दुई सदस्य कार्यालय गठन गरेको थियो ।
पार्टी एकताको प्रक्रियालाई टुंगो लगाउन, केन्द्रीय सदस्यको कार्यविभाजन गर्न, पोलिटब्यूरो सदस्यको चयन गर्नको लागि नेकपाले मंसिर ६ गते सचिवालयको बैठक बोलाएको छ ।