काठमाडौँ, ९ मङ्सिर । घर तथा भवन निर्माणसम्बन्धी बिहीवारदेखि शुरु भएको ‘विल्डिङ एण्ड कन्स्ट्रक्सन एक्स्पो’ मा ४० हजारभन्दा बढीले अवलोकन गरेका छन् ।
सर्वसाधारणलाई निर्माणसम्बन्धी जानकारी दिने उद्देश्यले शुरु भएको मेलामा आफूले सोचेजस्तै अवलोकनकर्ता भित्र्याउन सफल भएको मेलाका मुख्य आयोजन युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टरका अध्यक्ष आनन्द सुवेदीले बताएको छ।
“भूकम्पपछि मानिसमा घर बलियो बनाउनुपर्छ भन्ने चेतना बढेको छ, जसका कारण घर कसरी बनाउनुपर्छ भनेर उनीहरुलाई जानकारी दिने हेतुले प्रदर्शनीको आयोजना गरिएको हो”, सुवेदीले भन्नुभयो । प्रदर्शनीमा विद्यार्थीदेखि वृद्धवृद्धाको समेत आकर्षण रहेको उहाँले जानकारी दिएको छ ।
सो प्रदर्शनीमा घर तथा भवन निर्माणका लागि आवश्यक सिमेन्ट, इँटा, डण्डी, पाइप, झ्याल, ढोका, भ¥याङलगायत कोठाका लागि आवश्यक सामग्रीका साथै घरका लागि आवश्यक वास्तुसम्बन्धी जानकारीसमेत दिइएको थियो ।
त्यसका अतिरिक्त बीमासम्बन्धी परामर्श तथा घर निर्माण तथा व्यवसाय सञ्चालनका लागि आवश्यक परामर्शसमेत दिइएको थियो । प्रदर्शनीमा १०० कक्ष राखिएका थिए । (रासस)