मैत्रीपुर्ण खेल खेल्नका लागि नेपाली राष्ट्रिय फुटबल टोली म्यानमार प्रस्थान

मैत्रीपुर्ण खेल खेल्नका लागि नेपाली राष्ट्रिय फुटबल टोली म्यानमार प्रस्थान

काठमाडौँ, कात्तिक १७ । मैत्रीपूर्ण खेलका लागि म्यानमार जाने नेपाली राष्ट्रिय फुटवल टोलीको विदाई गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालगायतका पदाधिकारीहरुले आईतबार ललितपुरको सातदोबाटोस्थित एन्फा परिसरमा सो टोलीको विदाई गरेका हुन ।

खेलाडीको विदाई पछि संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष शेर्पाले म्यानमारविरुद्ध सो टोलीले उच्च प्रर्दशन गर्ने विश्वास व्यक्त गरे । उनले यस अघि म्यानमारविरुद्ध अन्डर–२३ र महिला टोलीले उच्च प्रर्दशन गरेको उल्लेख गर्दै आज गएको टिमले पनि उच्च प्रर्दशन गर्ने विश्वास व्यक्त गरे ।

२३ सदस्यीय खेलाडीसहितको सो टोली आईताबार दिउँसो नै म्यानमार प्रस्थान गरेको छ । नेपालले म्यानमारसँग आगामी कार्तिक २१ गते बिहीबार मैत्रीपूर्ण खेल खेल्नेछ ।

कतारमा आयोजना हुने फिफा विश्वकप छनौट अन्तरगत समूह चरणको खेल खेलिरहेको नेपालले घरेलु मैदानमा हुने खेल अघि म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपालले पहिलो घरेलु खेलमा कुवेतसँग आगामी मंसीर ३ गते दशरथ रंगशालामा खेल्नेछ । म्यानमारसँगको मैत्रीपूर्ण खेललाई कुवेतसँगको तयारीको रुपमा हेरिएको छ ।

विश्वकप छनौटको समूह ‘बी’ मा रहेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको चौंथो स्थानमा रहेको छ ।

Trending News