कास्की, कार्तिक २८ । कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसले पहिलो चरणको चुनाव प्रचारप्रसार सक्दै आज बिहीबारदेखि दोस्रो चरणका कार्यक्रम गर्ने भएको छ ।
पहिलो चरणअन्तर्गत केही वडामा बाहेक अधिकांशमा घरदैलो कार्यक्रम सकिएको र दोस्रो चरणको घरदैलोलगायतका कार्यक्रम भोलिदेखि थालिने चुनाव प्रचार समितिका मूल समितिका संयोजक एवम् कास्की काङ्ग्रेसका सभापति कृष्ण केसीले बताए ।
दोस्रो चरणको कार्यक्रमअन्तर्गत बाँकी वडामा घरदैलो सक्ने र पुनः दोहो¥याउने उनले बताए ।
“पार्टीका सबै संयन्त्रलाई सक्रिय बनाएर मतदातासमक्ष पठाएका छौँ”, उनले भने, “अब दुई÷तीन दिनमा पार्टीका संयन्त्रका संयोजकसँग बैठक बसी मतदाताको गुनासो र सुझावबारे छलफल गरी पार्टीको थप धारणासहित पुनः मतदातासमक्ष जाने योजना छ ।”
पार्टीले उम्मेदवार खेमराज पौडेलसहित मङ्गलबार र बुधबार दुई दिन पोखरा–१७ मा घरदैलो गरे पनि अझै नसकिएको प्रचारप्रसार समितिले जनाएको छ ।
आजदेखि पोखरा–२० मा घरदैलो गरिने र वडा नं १७ का बाँकी रहेका मतदातालाई पुनः समय मिलाएर भेट्ने उम्मेदवार पौडेलले जानकारी दिनुभयो । महानगरका ११ वटै वडामा आफ्नो संयन्त्र क्रियाशील बनाउँदै चुनाव प्रचारप्रसार कार्यमलाई तीव्रता दिएको पार्टीले जनाएको छ ।