कृषि युगको सम्झनामा ‘भुस पोल्ने पर्व’

कृषि युगको सम्झनामा ‘भुस पोल्ने पर्व’

–रामबहादुर थापा
बागलुङ,कात्तिक २९ । ‘बाटो हिँड्ने बटुवा सबै मेरा माइती, छोटेमोटे हो, पाउलाई ढोग्यौँ, देख्यो कि देखेनौ’ शङ्खु (मूल) घरलाई फेरो मार्दै गाउँलेहरु गीत–गाथा हाल्छन् । हातमा राँको, जाँडको ठेकी र लेकाली कटुसको स्याउला नचाउँदै नजीकैको शङ्खुबारी पुग्छन् । शङ्खुबारीको बीचमा रहेको ठूलो ढुङ्गालाई सहकालका देउता मानेर पुज्छन् ।

गुरुबा र गाउँका अगुवाले ढुङ्गा छेउ लिङ्गो ठड्याउँछन्, धूपबत्ती गर्छन् र जाँड चढाउँछन् । प्रकृतिका देउता ‘शङ्खु’ को प्रतीक स्वरुप मूल घर र बारीलाई समेत शङ्खु भनेर चिनिन्छ । पूजाको विधिपछि अविवाहित युवा हातमा कोदालो लिएर शङ्खुबारीमा दौडन्छन्, युवतीलाई डाक्छन् । युवतीहरु पनि कोदालोसहित शङ्खुबारी आउँछन् ।

पाका र विवाहितले अघिअघि बीउ छर्छन्, अविवाहित युवायुवती मिलेर शङ्खुबारीमा मेलो खन्न शुरु गर्छन् । यसलाई परम्परागत रुपमा ‘छापे खन्ने’ भनिन्छ । मेलो सकिएपछि युवायुवतीहरु एकापसमा कोदालो जुधाउँछन् र तानातान गर्छन् । अन्तिममा सँगै कोदालो उठाउँदै खुशी साट्छन्, खेती लगाएको सन्देश दिन्छन् ।

यो दृश्य हो बागलुङ, ताराखोला गाउँपालिका–२ अर्गलमा मनाइने ऐतिहासिक भुस पोल्ने पर्वको । पन्धौँ शताब्दीतिर चलेको मानिने यो पर्वको वर्णन यत्तिमा मात्र समेटिन्न । यो पर्वसँग जोडिएको छ, लामो कथा र गाथा । अर्गलमा वर्षेनी कात्तिक २४ गतेदेखि भुस पोल्ने पर्व शुरु हुन्छ । पर्वको रौनक भने कात्तिक अन्तिमसम्मै चल्छ ।

सदियौँअघि पाल्पाको अर्गलीबाट बसाइँसराइ गरी अर्गल गाउँमा आएका मगरहरुले पर्वको चलन बसालेका हुन् । पुर्खाले खोरिया खनी थातथलो बसाएको र खेती शुरु गरेको दिनको सम्झनामा भुस पोल्ने पर्व मनाउने गरिएको स्थानीयवासी बिर्बलाल घर्तीमगरले बताए ।

मगर भाषा तथा संस्कृति सम्बद्र्धन समितिका सचिवसमेत रहेका उनले व्यवस्थित खेती प्रणाली शुरु भएसँगै पर्वको थिति चलेको उल्लेख गरे । ‘भुस पोल्ने पर्व श्रम र उत्पादनसँग जोडिएको छ, यो प्रकृतिको पनि पूजा हो’, उनले भने । घर्तीमगरका अनुसार पर्वको पहिलो दिन कात्तिक २४ गते शङ्खुबारीमा भुस पोल्ने काम हुन्छ । मकै बाली भित्र्याएपछि बारीमा रहेका डाँठ, पात, पतिङ्गर जम्मा पारेर आगो लगाउने कार्यलाई नै भुस पोल्ने भनिन्छ ।

शङ्खुघरका मूल भाञ्जाले भुस पोल्ने चलन छ । उक्त दिनमा पनि शङ्खुबारीमा पूजाआजा हुन्छ । शङ्खुबारीमा उब्जेको जौ बाली शुङ्खु ९मूल० घरले प्रयोग गर्ने र त्यही घरले पूजाआजाको खर्च चलाउनुपर्ने नियम छ । झण्डै २५ वर्षदेखि स्थानीयवासी अम्मरबहादुर थापामगरको घरलाई गाउँलेले शङ्खुघर मान्दै आएका छन् ।

गाउँको ज्येष्ठ व्यक्तिको घरलाई नै शङ्खुघर नामकरण गर्ने गरिन्छ । पहिले गाउँको मुुखियाको घरलाई शङ्खुघर मान्ने चलन थियो । पर्वको अर्को दिन २५ गते वर्ष दिनभित्र मृत्यु भएकाका परिवारमा मृत्यु संस्कारको रुपमा बरखी ९दुःख० उम्काउने चलन छ । कात्तिक २४ अघि जहिले मृत्यु भएको भए पनि २५ गते नै मृत्यु संस्कार पूरा हुने गर्छ ।

कात्तिक २४ गते मृत्यु भएमा भने वर्षभरि नै दुःख बार्नुपर्ने हुन्छ । घरमा चेलीबेटी, भाञ्जाभाञ्जीलाई बोलाई दानदक्षिणा दिई मृत्यु संस्कार पूरा गर्ने गरिन्छ । मृत्यु संस्कारको समापनलाई गाउँलेले ‘होलादास’ पनि भन्ने गर्छन् । मृतकको घरमा दिदीबहिनीमध्ये जेठीले १८ माना चामल र सोही बराबरको सुकुटी र सुकेको छाला ल्याउनुपर्ने प्रचलन छ ।

मृतकको परिवारबाट पनि सोही अनुसार मावली र माइतीघरमा पठाउने गर्छन् । त्यसरी पठाएको कोशेली दाजुभाइ मिलेर बाँड्ने र त्यसबापत नगद दक्षिणा गर्ने चलन छ । भुस पोल्ने पर्व जन्म संस्कारसँग पनि जोडिएको स्थानीय अगुवा सूर्यबहादुर घर्तीमगरले बताए । पर्वको मुख्य दिन २६ गते छापे खनेपछि २७ गतेदेखि यो वर्ष छोरा जन्मिएका घरमा पुत्र बढाइँ शुरु हुने उनको भनाइ छ ।

‘पुत्र बढाइँको कार्यक्रम कात्तिकभित्रै गर्नुपर्ने चलन छ’, उनले भने– ‘पुत्र बढाइँ र सरस्वती पूजा गरेपछि बल्ल भुस पोल्ने पर्व सकिन्छ ।’ पुत्र बढाइँमा गोपीचन नाच देखाउने, गाथा हाल्ने पुरानो चलन छ । उनले जङ्गली युगबाट कृषि युगमा प्रवेश गरेको दिनलाई शाखा–पुर्खाले भुस पोल्ने पर्वका रुपमा मनाउँदै आएको उल्लेख गरे ।

‘कात्तिक २४ गते अर्गलको शङ्खुबारीमा भुस पोलेपछि ताराखोलाकै हिल र तारागाउँमा भुस पोल्ने गरिन्छ,’ उनले भने– ‘२६ गते अर्गलमा छापे खनेपछि सोही दिन राति हिल र २७ गते बिहान तारागाउँमा खन्ने चलन छ ।’ उनका अनुसार त्यसबेला अर्गलमा भुस पोलेको धुवाँ देखेपछि गाउँभरिका किसानले खेती गर्न शुरु गर्थे ।

पछिल्लो समय भुस पोल्ने पर्वको प्रवद्र्धन गरिरहेको अर्गल खेलकूद विकास मञ्चका संस्थापक सचिवसमेत रहनुभएका सूर्यबहादुरले भुस पोल्ने पर्व आदिवासी जनजातिहरुको ऐतिहासिक दिन भएको धारणा राखे । ‘युग फेरिएको दिनको सम्झनामा भुस पोल्ने पर्व मनाइने गरिएको छ,’ उनले भने ।

भुस पोल्ने पर्व अर्गलको मात्र नभई सिङ्गो ताराखोलाकै साँस्कृतिक तथा ऐतिहासिक धरोहरका रुपमा रहेको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगरले बताए । गाउँपालिकाले पर्वका अवसरमा २६ गते मङ्लबारका दिन सार्वजनिक विदासमेत दिएको थियो । अध्यक्ष घर्तीमगरले परम्परागत मेला, पर्व र संस्कृतिको जगेर्नाका लागि आवश्यक सहयोग गर्न गाउँपालिका सधैं तयार रहेको उल्लेख गरे ।

‘संस्कृतिको संरक्षण र पुस्तान्तरण हाम्रो मुख्य चुनौती हो,’ उनले भने– ‘हाम्रा पर्व, मेलाबारे खोज, अध्ययन गर्ने, वृत्तचित्र बनाउने काम शुरु भएको छ । तालीमलगायत प्रवद्र्धनात्मक कार्यक्रमको पनि योजना छ ।’ उनका अनुसार गाउँपालिकाभित्र एक वर्षमा १४५ दिन विभिन्न पर्व तथा मेला चल्छन् ।

यसपालि भुस पोल्ने पर्व अवलोकनका लागि मङ्गलबार अर्गल पुग्नुभएका गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले ताराखोला संस्कृति र प्रकृतिले धनी रहेको बताए । ‘यहाँका बासिन्दा जति मेला, पर्वमा रमाउनुहुन्छ, त्यति नै श्रमजीवी पनि हुनुहुन्छ,’ मन्त्री लम्सालले भने– ‘पर्यटकीय सम्भावनाका दृष्टिकोणले पनि ताराखोला अगाडि छ ।’

उनले प्रदेश सरकारले संस्कृति संरक्षणको अभियानसमेत चलाएको उल्लेख गरे । प्रदेशका ११ वटै जिल्लामा रहेको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वका गन्तव्य पहिचान गर्ने र तिनको प्रवद्र्धन गर्ने काम भइरहेको मन्त्री लम्सालले बताए । ताराखोलामा प्रचलित मेला, पर्वलाई पर्यटनसँग जोड्नुपर्ने उनको भनाइ थियो ।

ताराखोला क्षेत्रमा ऐतिहासिक भुस पोल्ने पर्वसँगै सिस्नो खोस्ने, असारे, भदोरैजस्ता मेला÷पर्व प्रचलित छन् । त्यहाँका मगर समुदायले सयौँ वर्ष पुरानो साँस्कृतिक परम्परालाई धान्दै आएका छन् । पन्धौँ शताब्दी ताका पाल्पाको अर्गलीबाट आएका मगरहरु अर्गलमा र डोल्पाको भोटबाट आएका मगरका पुर्खा तारागाउँमा बसोबास गरेको पाइन्छ ।

बा¥ह मगरातमा पर्ने पाल्पा, अर्गलीबाट आएका मगरले आफूसँगै भुस पोल्ने पर्व पनि लिएर आएको गाउँका अगुवाहरु बताउँछन् । बास र खेती लगाउने ठाउँको खोजीमा आएका उनीहरु अर्गलमा आई खोरिया खनेर थातथलो बसाएका थिए । त्यसरी नयाँ ठाउँमा आउँदा बाटोमा कुनै दुःख, कष्ट नहोस्, कसैले केही नगरोस् भनेर ‘बाटो हिँड्ने बटुवा सबै मेरा माइती’ भन्दै गीत गाउँदै आएको कथन छ ।

पछिल्लो समय भुस पोल्ने पर्वकै अवसरमा अर्गल खेलकूद विकास मञ्चले खेलकूद तथा साँस्कृतिक कार्यक्रमसमेत राख्ने गरेको छ । रैथाने मगरहरुको मौलिक पर्वमा विविधता थप्ने प्रयास गरिएको मञ्चका अध्यक्ष लोकबहादुर क्षेत्रीले बताए। अर्गलमा पुन, पुलिसा, ओसासा र नाउसा थरका घर्तीमगरको बसोबास छ । रासस

Trending News