काठमाडौँ, मंसिर ६ । नेपाल र चीनबीच सीमा वारपार रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि आगामी मङ्गलबार काठमाडौँमा द्विपक्षीय छलफल हुनेभएको छ । छलफलका लागि चीनको राष्ट्रिय रेल प्राधिकरणका उच्च अधिकारीको नेतृत्वमा वार्ताटोली काठमाडौँ आउन लागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
लामो समयदेखि रेलमार्गको विषयमा विभिन्न चरणमा दुई देशबीच औपचारिक÷अनौपचारिक छलफल हुँदै आएको भए पनि उक्त परियोजनालाई व्यवहारमा अनुवाद गर्न चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका बेला सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो ।
चीनले सिगात्सेबाट केरुङसम्म रेलमार्ग बनाउने लक्ष्य लिएकामा नेपालले उक्त रेलमार्गलाई केरुङ–काठमाडौँ हुँदै पोखरासम्म जोड्न गरेको प्रस्तावमा चिनियाँ पक्षले सकारात्मक जवाफ दिएको छ । चीनको ‘बेल्ट एण्ड रोड’ पहल र हिमालयन वारपार बृहत् सम्पर्क सञ्जालमा नेपाल पक्षधर राष्ट्र भइसकेको छ ।
चीनको ‘नेशनल रेल्वे अथोरिटी’ले केरुङ–काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन गत मङ्सिर २४ गते नेपाल सरकारसमक्ष प्रस्तुत गरिसकेको छ । रेलमार्ग निर्माण सम्बन्धमा चिनियाँ प्राविधिक टोलीले तयार पारेको उक्त प्रतिवेदनका आधारमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र लगानीको ढाँचाका सम्बन्धमा दुई देशबीच पटकपटक छलफल भएको छ । आपसी छलफललाई निरन्तरता दिँदै निष्कर्षमा पुग्ने सिलसिलमा मङ्गलबार छलफल हुन लागेको हो । चिनियाँ टोलीले काठमाडौँ–पोखरा रेलमार्गको पनि सम्भाव्यता अध्ययन गरिसकेको छ ।
केरुङ–काठमाडौँ रेलमार्गको दूरी करीब ८० किलोमिटर हुनेछ । सो रेलमार्गको निर्माण अवधि नौ वर्षको हुने र करीब रु तीन खर्बभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको छ । काठमाडौँ–पोखरा रेलमार्गको लम्बाइ १७१ किलोमिटर हुने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ असार ५ देखि १० गतेसम्म गर्नुभएको चीनको औपचारिक भ्रमणका क्रममा सो रेलमार्ग निर्माण प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो ।
आगामी बैठकमा चिनियाँ पक्षले नेपालका अधिकारीलाई प्राविधिक विषयमा पनि सुझाव दिने अपेक्षा गरिएको छ । यसअघि पहिलो र तेस्रो छलफल नेपालमा र दोस्रो र चौथो छलफल चीनमा भएका थिए ।
छलफलले डिपिआरका विषयमा अन्तिम टुङ्गो लगाउने अपेक्षा गरिएको छ । मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सरकारले रेल क्षेत्रमा महत्वकाङ्क्षी योजना अघि सारेकाले चुनौतीका साथ अघि बढेको बताए ।