काठमाडौं । विहिबार लक्ष्मी पुजा । अधिकांश हिन्दु धर्मालम्बीहरुले धनधान्यदेवि लक्ष्मीको पुजा भन्दै आफ्नो घरमा दिप प्रज्वलन गर्ने प्रचलन छ । यही प्रचलनको नाममा पैसामाथि दियो राखेर दिप प्रजवलन गर्दा राजधानीको अनामनगरमा रहेको कार्की भवनमा करोडौंको भवनमा आगलागी भएको छ । भवनको दोस्रो तलामा रहेको फर्निचर महलमा विहिबार दिप प्रज्वलन गर्ने क्रममा आगलागी भएको हो । आगलागीबाट भवनको तीन वटा तलामा पूर्ण रुपमा क्षेति पुगेको छ ।
विहिबार फर्निचर महलमा कार्यरत कर्मचारीले पुजा गर्ने क्रममा पैसामाथि दियो बालेर छाडेर हिँडेका थिए । त्यही पैसा चलेर आगलागी भएको हो । आगलागीका कारण तेस्रो तलामा रहेको काठमान्डु क्लिनिक अफ कस्मेटिक सर्जरी (केसीसीएस)मा क्षेति भएको छ ।
प्रत्यक्षदर्शीका अनुसार विहिबार बेलुका साढे ७ बजेदेखि नै आगलागी शुरु भएको थियो । तर, लक्ष्मि पुजाको दिन न्युरोडबाट दमकल आउन समेत ढिला भएपछि आगलागी नियन्त्रण गर्न हम्मे हम्मे भएको थियो । भवन भित्र रहेको आल्मुनियमका कारण अझै आगो फैलिएको थियो । आगलागीबाट फर्निचर महलको सम्पूर्ण सामग्री समेत जलेको छ । घरभित्र रहेको ग्याँस लगायत बस्तु भने पड्कन नपाएको प्रत्यक्षदर्शीको भनाई छ ।
फर्निचर महलका सिइओ अनिस ढकाल अनुसार आगलागीबाट ६० लाखभन्दा बढीको फर्निचर सामग्री नै नष्ट भएको छ । ‘मैले पनि दिनभर पुजा गरेको हुँ । दियोको तल चामल थियो । आगलागी होला भनेरै पैसा पनि टाढा राखिएको थियो । कसरी आगलागी भयो आश्चर्यमा छौँ,’ उनले भने,‘मलाई लाग्छ नजिकै रहेको कुचो ढलेपछि आगलागी शुरु भएको हुनसक्छ ।’
उनका अनुसार कार्की भवनले निर्माण सम्पन्नको प्रमाण पत्र समेत नलिएका कारण विमा समेत गर्न सकेको थिएन । त्यस्तै उनको कार्यालयले समेत विमा गरेको थिएन । ‘२÷३ लाख त नगद नै थियो । कम्पनिको छापदेखि चेकसम्म कार्यालयमै थियो,’ उनले भने,‘सामग्रको त कुरा भएन महत्वपूर्ण कुरा कागजात नै नष्ट भयो ।’
उनका अनुसार भित्र रहेको ल्याप्टप लगायत महत्पुर्ण सामग्री समेत जलेर नष्ट भएको छ ।