काठमाडौं । कतारमा जारी ‘विश्वकप २०२२’ अब अन्त्य तिर पुगेको छ । हालसम्म सेमिफाइनलमा पहिलो खेल सम्पन्न भइसकेको छ भने अब अर्को सेमिफाइनल खेल आज राति पौने एक बजे हुँदै छ। जारी विश्वकप रोमान्चक भइरहेको छ। यस पटक धेरै महान् खेलाडीहरूको अन्तिम खेल भएका कारण पनि विशेष रूपमा हेरिएको छ।
यस पटक धेरै खेलाडीहरूले नयाँ नयाँ रेकर्ड कायम गरिरहेका छन्। ती रेकर्डहरुका बारेमा सर्वत्र चर्चा भइरहेको छ। ती खेलाडीहरू मध्येका एक हुन्, अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी । मेस्सीले फुटबल जयगतमा यसअघि पनि धेरै नयाँ रेकड कायम गरेका छन्।
अरू समयमा जस्तै, मंगलबार भएको क्रोएसियाविरुद्धको सेमिफाइनल खेलमा उनले एकै दिन धेरै नयाँ रेकर्ड राख्न सफल भएका छन्। सेमिफाइनल खेलमा मेस्सी फिफा पुरुष विश्वकपको इतिहासमा उनी सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका छन् । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेइनका यी स्ट्राइकरले मंगलबार दोहाको लुसेल रंगशालामा विश्वकपमा आफ्नो २५ औँ खेल खेले । यो जर्मनीका महान् खेलाडी लोथर म्याथ्युजसँग बराबरीको कीर्तिमान हो ।
अब फाइनलमा मैदानमा उत्रिएसँगै मेस्सी विश्वकपमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बन्नेछन् । यसैबिच क्रोएसियाविरुद्ध पेनाल्टीमार्फत पहिलो गोल गरेका मेस्सी अर्जेन्टिनाका लागि विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । मेस्सीले विश्वकपमा ११ औँ गोल गर्दै अर्जेन्टिनाका लागि सर्वाधिक गोलकर्ताको सूचिमा आफूलाई माथि उभ्याएका हुन् ।
मेस्सीले क्रोएसियाविरुद्ध सेमिफाइनलमा गोल गर्दै ग्याब्रिएल बाटिस्टुटाको कीर्तिमान तोडेका छन् । उनले पछिल्लो खेलमा गोल गर्दै १० गोलको कीर्तिमान बराबरी गरेका थिए । अर्जेन्टिनाका लागि डिएगो म्याराडोना र गिलेर्मो स्ताबिलले ८/८ गोल गरेका छन् ।
त्यसैगरी, मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने पाका खेलाडीको रेकर्ड पनि आफ्नो नाममा पारेका छन्। ३५ वर्षिय मेस्सीले विश्वकपमा ५ गोल गर्दै सो रेकर्ड आफ्नो नाममा परेको हो।
यस्तै सम्पन्न क्रोएसियाविरुद्धको सेमिफाइनल खेलमा एक गोल र एक असिस्ट गरेपछि मेस्सीले आफ्नै देश अर्जेन्टिनाका महान् खेलाडी डिएगो म्याराडोनाको कीर्तिमान भङ्ग गरेका छन्। विश्वकपमा म्याराडोनाले ८ असिस्ट गरेका छन्। मेस्सीले आज एक असिस्ट गरेपछि उनीसँग बराबरी भएको छ।
यसैबिच कतारमा जारी विश्वकप फुटबलको गोल्डेन बुटको दौडमा मेस्सीले फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेलाई उछिनेका छन्।
सेमिफाइनल खेलमा एक गोल र एक असिस्ट गरेपछि मेस्सीले एम्बाप्पेलाई उछिनेका हुन्। जारी विश्वकपमा मेस्सी र एम्बाप्पले समान पाँच गोल गरेका छन्।
तर असिस्टमा मेस्सी अगाडि लागेका छन्। मेस्सीको तीन असिस्ट छ भने एम्बाप्पेकोको दुईमात्र छ। विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीले गोल्डेन बुट पाउँछन्। यदि गोल संख्या बराबरी भएका असिस्ट बढी गर्नेले पाउँछ। जारी विश्वकपमा एम्बाप्पेले अझै दुई खेल खेल्न बाँकी छ। यसैले उनले मेस्सीलाई जित्न सक्छन्। अब मेस्सीले भने फाइनलमात्र खेल्न बाँकी छ।