बालुवा तस्करी रोक्न सिद्धलेकका अध्यक्षको हारगुहार : प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म उजुरी !

दियो पोस्ट  

धादिङ । नदिजन्य पदार्थ उत्खनन् गरि गैरकानुनी रुपमा बालुवा ढुंगा गिटीको तस्करी गर्ने  कार्यमा स्थानिय तहका प्रमुख तथा जनप्रतिनिधिहरु नै समलग्न हुने गरेको घटना बेला बेला सार्वजनिक हुन्छ । कतिपय जनप्रतिनिधिले आफ्नै लगानीमा क्रसर तथा बालुवा प्रशोधन उद्योग संचालन गरि अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् र तस्करीमा समलग्न हुने गरेका छन् । तर, धादिङको सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले भने गैरकानुनी रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने कार्य रोक्न प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र प्रमुख जिल्ला अधिकारी समक्ष गुहार मागिरहेका छन् ।

नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष खतिवडाले त्रिशुली नदिमा अवैध रुपमा केही व्यक्तिले बालुवा तथा नदिजन्य पदार्थ अवैध रुपमा उत्खनन् गरेको भन्दै उत्खनन् रोक्न धादिङ जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीसम्म उजुरी दिएका हुन् ।

 

गत पुस २१ गते खतिवडाले दिएको निवेदनमा धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ देखि ७ भित्र पर्ने त्रिशुली नदि नजिकैको ढिस्को र बगरमा रहेको बालुवा, ढुंगा, गेगर लगायतको प्राकृतिक श्रोतबाट प्राप्त हुने कच्चा पदार्थ ठेक्का बिना नै केही व्यक्तिहरुले प्रशासनलाई समेत मुठ्ठिीमा लिएर चोरी निकासी गरेको दाबी गरिएको छ ।

‘केही स्थानिय व्यक्तिहरुले बलपूर्वक गाउँपालिकाबाट कुनै स्विकृति र सहमति नै नलिई आफू खुसी ढंगबाट कानुन समेत आफ्नो हातमा लिई फूर्केखोलाको पूलदेखि आदमघाट वारीसम्मका नदि किनार र ढिस्कोमा रहेको प्राकृतिक श्रोतको कच्चा पदार्थहरु दिन÷रात उत्खनन् गरी गराई ट्रकका ट्रक ढुंगा, गिट्टी, बालुवा निकासी गरिरहेको र स्थानिय तहबाट सम्झाउन बुझाउन मानिस पठाउँदा उल्टै त्यहाँ कार्यरत विभिन्न व्यक्तिले धादिङ जिल्लाका प्रहरी र प्रशासन हाम्रो मुठ्ठीमा छ उनीहरुले यस सम्बन्धमा कुनै रोकतोक गर्न सक्ने छैनन् । तिमीहरुले यहाँको बालुवा, ढुंगा उत्खनन् निकासी रोक्ने प्रयास गर्यो भने तिमीहरुले नराम्रो परिणाम पर्ला होस् गर’ भन्ने सम्मका धम्की विभिन्न समयमा विभिन्न नम्बर समेतबाट आउन थालेको हुँदा जिल्ला प्रशासनद्वारा प्रहरी परिचालन गरि गराई अवैध तथा अनाधिकृत ढंगबाट भइरहेको दोहन कार्य तत्काल रोक्का गरि गराई यस सिद्धलेक गाउँपािलका कार्यालयलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछु,’ उनले दिएको उजुरीमा भनिएको छ ।

उनले दिएको उजुरीमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँड, गृहसचिव विनोद प्रकाश सिंह र प्रहरी प्रमुख धिरज प्रताप सिंहलाई समेत बोधार्थ दिएका छन् ।

सिडियो भन्छन्,‘नितिगत सुधारको खाँचो छ’

यता धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले गाउँपालिका अध्यक्षको उजुरीपछि प्रहरी प्रमुखलाई बोलाएर तुरुन्त अनुगमन गरिएको र उत्खनन् कार्य रोकिएको जानकारी दिए । ‘पालिका अध्यक्ष ज्यूले उजुरी दिएपछि हामीले सबै निकायलाई राखेर अनुगमन गर्ने र रोक्ने काम गर्यौँ,’ उनले भने,‘तर, स्थानिय तहहरु व्यवस्थापकीय पाटो कमजोरी हुँदा यस्तो समस्या देशैभरी आएको छ ।’

उनले नदिजन्य पदार्थ उत्खनन् र निकासीमा नितिगत सुधारको आवश्यकता रहेको समेत बताए । ‘नितिगत सुधारको खाँचो छ । नदिजन्य पदार्थको उत्खनन् निजि क्षेत्रलाई दिनु हुँदैन । म यसअघि स्थानिय विकास अधिकारी भएर लामो समय काम गरेको अनुभवको हिसाबले भन्दा राज्यले नै उत्खनन् गर्दा पारदर्शीता हुन्छ । बरु मार्केटिङ र विक्री गर्ने कार्यमा निजि क्षेत्रलाई खटाउन सकिन्छ ।’