काठमाडौं । भिजिट भिषामा मानव तस्करी गरेको अभियोगमा दुबईबाट ईन्टरपोल मार्फत पक्राउ परेका कोमलराज उपाध्याय जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंको आदेशले उनी पुर्पक्षका लागि जेल चलान भएका हुन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश किशोर घिमिरेको एकल ईजलाशले उनलाई केन्द्रीय कारागार सुन्धारा चलान गरेको हो ।
श्रीराम रानाभाट सहित ८३ जना पीडितहरुले प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो (सीआईबी) मा जाहेरी दिएपछि उनी विरुद्ध ईन्टरपोल मार्फत रेड कर्नर नोटिस जारी भएको थियो । उपाध्यायले भिजिट भिषामा मानव तस्करी गर्दै आएको विषयमा दियोपोस्ट डटकमकले पहिलो पटक समाचार प्रकाशन गरेको थियो । प्रकाशित समाचारलाई लिएर उपाध्यायले दियोपोस्टकर्मीलाई दुबईबाटै धम्की दिएका दिए ।’
केहीदिन अघि सिआइबीले दुबईबाट ल्याएका उपाध्यायलाई अदालत पेश गरेको थियो । विगत तीन दिनदेखि जारी थुनछेक बहसका लागि उपाध्यायले ७ जना वकिल राखेको थियो । पीडितका तर्फबाट सरकारी वकिल कार्यालय काठमाडौंले बहस गरेको थियो ।
पीडितहरुले दिएको जाहेरीमा उल्लेख भए अनुसार उपाध्यायको समुहले २ करोड ६३ लाख भन्दा बढी रकम ठगी गरेको आरोप छ । सोही ठगी आरोपमा उनकी पत्नि रञ्जना ढकाल उपाध्याय पनि जेलमा छिन् । यो मुद्दामा प्रहरीले २३ जनालाई मुद्दा चलाएको थियो । उनीहरु मध्ये उपाध्याय, उनकी पत्नि रञ्जना र होम बहादुर खड्का जेल चलान भएका छन् ।