काठमाडौँ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले बिभिन्न महत्वपूर्ण निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा सूचना–सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार पत्रकार सम्मेलनमार्फत मन्त्री परिषदका बिभिन्न २७ बुँदे निर्णय सार्वजनिक गरेका हुन्।
मन्त्री परिषदले गरेको निर्णयहरूमा उच्च पदस्थ नियुक्ति, वित्तीय नियन्त्रण, वैदेशिक सहायता तथा पूर्वाधारसम्बन्धी विषयहरू समावेश छन्।
बैठकले लामो समयदेखि रिक्त रहेको प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा दाङका डा.कुमार शर्मा आचार्यलाई नियुक्त गरेको छ। त्यसैगरी लुम्बिनी विकास कोषको सदस्य–सचिवमा गोरखाका इन्जिनियर दीपक श्रेष्ठलाई मनोनयन गरेको छ ।
यस्तै, विश्वविद्यालय अनुदान आयोगको रिक्त सचिवमा प्रा. ज्ञान बहादुर थापा र कर्मचारी सञ्चय कोषको सञ्चालक समिति अध्यक्षमा अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराललाई नियुक्त गर्ने निर्णय गरिएको छ।
साथै सहसचिव बैकुण्ठ प्रसाद अर्याललाई विशिष्ट श्रेणी (सचिव) मा बढुवा गरी सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ।
मन्त्रिपरिषद्ले बाढी-पहिरोका कारण ठूलो जनधनको क्षति व्यहोरेको श्रीलङ्कालाई मानवीय सहायता स्वरूप २ लाख अमेरिकी डलर प्रदान गर्ने पनि निर्णय गरेको छ।
सरकारले वित्तीय पारदर्शिता मजबुत बनाउन नगद कारोबारमा कडाइ गर्ने नीति लागू गर्न माघ १ गतेदेखि एकैपटक पाँच लाख रुपैयाँ वा त्यसभन्दा बढीका वस्तु-सेवा खरिदबिक्रीमा अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थामार्फत मात्रै भुक्तानी गर्नुपर्ने व्यवस्था लागू हुने निर्णय गरेको छ ।
