उज्यालो नेपाल पार्टीको सात बुँदे एजेन्डासहित ‘घोषणा पत्र’ सार्वजनिक

दियोपोस्ट संवाददाता  

काठमाडौँ । उज्यालोका नायक कुलमान घिसिङको नेतृत्वमा गठन भएको उज्यालो नेपाल पार्टीले आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच बिभिन्न सात बुँदे प्रस्तावसहित घोषणा पत्र सार्वजनिक गरेको हो ।

पार्टीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई आधार मानेर अघि बढेको पार्टीले विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायलाई प्रमुख उद्देश्यका रूपमा प्रस्तुत गरेको छ।

वर्तमान शासकीय ढाँचा र निर्वाचन प्रणालीमा मूलभूत परिवर्तन आवश्यक रहेको पार्टीको निष्कर्ष रहेको पार्टीले बताएको छ ।

घोषणापत्रमा अहिलेको व्यवस्थाले स्थिर सरकार सुनिश्चित गर्न नसक्ने ठहर गर्दै संविधानका महत्वपूर्ण प्रावधानहरूको पुनरावलोकन गर्नुपर्ने उल्लेख गरिएको छ।

सात बुँदे संशोधन एजेन्डामा समानुपातिक समावेशी प्रतिनिधित्व जोगाई निर्वाचन प्रणालीको पुनर्संरचना, प्रदेशमा मुख्यमन्त्री प्रत्यक्ष रूपमा चुन्ने व्यवस्था, पाँच सदस्यीय मन्त्रिपरिषद् गठनलगायतका प्रस्ताव राखिएका छन्।

यससँगै प्रदेशसभा खारेज गरी स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू मिलेर ‘प्रदेश परिषद्’ गठन गर्ने र त्यही परिषद्ले आवश्यक ऐनहरू पारित गर्ने व्यवस्था गर्नुपर्ने सुझाव पनि राखिएको छ।

संघीयता कायम राख्दै भूगोल र आर्थिक क्षमताअनुसार प्रदेश तथा स्थानीय तहको संख्या र संरचना पुनर्व्यवस्था गर्नुपर्ने धारणा पार्टीले प्रस्तुत गरेको छ।

शासकीय सुधारतर्फ पार्टीले सांसद नभएका विषय–विशेषज्ञलाई मन्त्री बनाउने सुविधा हुनु पर्ने तर परराष्ट्र, गृह, कानून र रक्षा मन्त्रालय भने अनिवार्य रूपमा निर्वाचित सांसदकै जिम्मामा हुनुपर्ने प्रस्ताव गरेको छ।

न्यायपालिकामा दलीय हस्तक्षेप रोक्न न्यायपरिषद् पुनर्गठन तथा स्थानीय तहमा गैरदलीय निर्वाचनको व्यवस्था गर्नुपर्ने माग पनि समेटिएको छ।

राजनीतिक स्थिरताका लागि प्रधानमन्त्री निर्वाचित भएपछि संसद्को कम्तीमा आधा कार्यकालसम्म सरकार सञ्चालनको सुनिश्चितता, एउटै क्षेत्रबाट लगातार तीनपटक उम्मेदवारी दिन नपाइने र समानुपातिक तथा मनोनीत सांसदलाई जीवनमा एकपटक मात्र सुविधा उपलब्ध गराउने जस्ता प्रस्तावहरू समावेश छन्।

कुलमान घिसिङको ‘चिलिमे मोडल’ र लोडसेडिङ अन्त्यका सफलता प्रेरणास्रोत भएको उल्लेख गर्दै पार्टीले आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई मुख्य लक्ष्य बनाएको छ।

राज्यको क्षमता विस्तार गरी गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यलाई राज्यको अनिवार्य जिम्मेवारीमा राख्ने, स्वदेशी पुँजी परिचालनमार्फत रोजगारी वृद्धि गर्ने तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिबद्धता घोषणापत्रमा उल्लेख छ।

भ्रष्टाचारबाट आर्जित सम्पत्ति छानबिन गरी जफत गर्न विशेष कानुनी व्यवस्था आवश्यक रहेको पार्टीको भनाइ छ।

२०८२ भदौको युवा आन्दोलनलाई संस्थागत गर्न पार्टी स्थापना गरिएको दाबी गर्दै उज्यालो नेपाल पार्टीले स्वदेश तथा विदेशमा रहेका सक्षम, इमानदार र दक्ष नागरिकहरूलाई सहभागी हुन आग्रह गरेको छ।

संगठनलाई चुस्त, प्रविधिमैत्री र उत्कृष्टतामुखी नेतृत्व चयन प्रक्रियायुक्त बनाउने प्रतिज्ञा पनि घोषणापत्रमा समावेश गरिएको छ।

सिफारिस