रुपन्देहीमा सवारी दुर्घटनामा बृद्धि, अवैध ‘असुली धन्दा’मा ट्राफिक

दियोपोस्ट संवाददाता  

भैरहवा । रुपन्देहीमा कमजोर ट्राफिक व्यवस्थापन र सडकमा जथाभावी पार्किङका कारण पछिल्लो समय सवारी दुर्घटना तीव्र रूपमा बढ्दै गएको छ। सडक अव्यवस्थित हुँदा दैनिक रूपमा आम नागरिकले सास्ती भोगिरहेका छन् ।

रुपन्देहीमा एक वर्षमा १ सय २१ जना नागरिकले सवारी दुर्घटनाबाट ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ज्यान गुमाउनेमा ९८ जना पुरुष र २३ जना महिला छन् ।

गत वर्ष कुल ८ सय २ वटा सवारी दुर्घटना भएको र ती दुर्घटनामा १ हजार १ सय ६२ वटा सवारीसाधन संलग्न रहेको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटना हुनेमा सबैभन्दा बढी मोटरसाइकल छन् ।

तर, सवारी साधन व्यवस्थापनको साटो ट्राफिक प्रहरीले अवैध रुपमा असुली कार्य जारी राखेको स्थानीयको आरोप छ। जेनजी आन्दोलनपछि ठप्प भएको अवैध असुली धन्दा पून सुरु भएको बताइन्छ ।

जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक प्रतिमा कार्कीले जिम्मेवारी सम्हालेसँगै पुनः सक्रिय भएको स्थानीय स्रोतको दाबी छ।

सडक डिभिजन कार्यालयका अनुसार फराकिला सडकका लेनहरूमा नियमविपरीत सवारी सञ्चालन हुँदा दुर्घटनाको जोखिम बढेको छ। फुटपाथ र सर्भिस लेनमा अनियन्त्रित रूपमा सवारी पार्किङ गरिँदा पैदल यात्रीलाई हिँड्नसमेत कठिनाइ भएको स्थानीयले बताउँदै आएका छन्।

जिल्ला सदरमुकाम भैरहवाका भीम अस्पताल, बैंक रोड, मिलनचोक, बुद्धचोकलगायत मुख्य बजार क्षेत्रमा अव्यवस्थित पार्किङका कारण जाम दैनिकको समस्या बनेको छ। त्यस्तै बुटवल, देवदह, धकधई, मुर्गिया, लुम्बिनी र बेलहियामा जथाभावी पार्किङ, ई–रिक्सा तथा ठेलाले आधा सडक ओगट्दा आवतजावत निकै प्रभावित भएको छ।

उन्नत सडक पूर्वाधार भएको रुपन्देहीमा ट्राफिक व्यवस्थापन अभावले सर्वसाधारणलाई असुविधा झेल्नुपरेको स्थानीयको भनाइ छ। विशेषगरी व्यस्त बजार क्षेत्रमा अव्यवस्थित पार्किङका कारण यात्रुहरूले नियमित रूपमा जामको सामना गर्नुपरेको छ।

नेपाल-भारत सीमा नाका बेलहियामा पनि प्रभावकारी ट्राफिक व्यवस्थापन नहुँदा नेपाल भित्रिने पर्यटकहरू समेत मर्कामा परेका छन्। सीमा क्षेत्रमा सवारीको लामो जाम र ट्राफिक प्रहरीको अवैध असुलीतर्फ बढी ध्यान जाँदा व्यवस्थापन थप कमजोर देखिएको छ।

जिल्ला प्रशासन कार्यालयले सीमा क्षेत्रबाट मात्र संयुक्त सुरक्षा जाँच गर्ने निर्देशन दिए पनि धकधई, बेथरी, लुम्बिनी, मुर्गिया, सालझण्डी क्षेत्रमा भारतीय सवारी र कन्टेनरबाट बारम्बार असुली भइरहेको व्यवसायीहरूको भनाइ छ।

नेपाल प्रहरीले यस विषयमा छानबिन हुने जनाए पनि यस विषयमा खासै चासो नदेखाएको आरोप छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्र बन्धु शर्माले गुनासो ठहरिए कानुनी कारबाही हुने र रुपन्देही ट्राफिक कार्यालयसँग थप छलफल गर्ने बताए ।

जिल्ला ट्राफिक प्रमुख प्रतिमा कार्कीले फोनमा प्रतिक्रिया नदिई भेटेर मात्र बोल्ने बताएकी छिन्। स्थानीय व्यवसायीले नियमित हुने अवैध असुली तत्काल रोक्न माग गरेका छन्।

सिफारिस