नारायणगढ-बुटवल सडक विस्तार : भौतिक प्रगति ७६ प्रतिशत मात्र

दियोपोस्ट संवाददाता  

नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाले हालसम्म ७६ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ। कुल ११३ किलोमिटर लम्बाइको सडकलाई दुई खण्डमा विभाजन गरेर निर्माण अघि बढाइएको हो।

हाल पूर्वी खण्डका अधिकांश स्थानमा बाँकी रहेका स्थानमा निर्माण तथा कालोपत्रका काम भइरहेको छ । पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार चौथो पटक थपिएको म्यादभित्रै निर्माण पूरा गर्ने लक्ष्यसहित काम तीव्र गतिमा अघि बढाइएको छ।

खनालका अनुसार पछिल्लो पटक थपिएको समयसीमा २०८३ असारसम्म रहेको छ। उपलब्ध म्यादमै सबै काम सम्पन्न गर्न निर्माण टोलीले क्षेत्रमा कामलाई तीव्रता दिएको उनले बताए।

गैँडाकोटको जयश्री पुल, चोरमारा बजार क्षेत्रको पुल, अरुणखोला पुल तथा दुम्किबास क्षेत्रमा कालोपत्र गर्न बाँकी छ भने अन्य क्षेत्रको कालोपत्र पूरा भइसकेको छ।

चोरमारा र अरुणखोलाका लामो पुल मात्र सञ्चालनमा आउन बाँकी रहेकाले ती स्थानमा समेत काम जारी रहेको खनालले बताए।

कालोपत्र सम्पन्न भइसकेका बजार क्षेत्रमा सर्भिस लेन कालोपत्र, डिभाइडर सफाइ तथा आवश्यक स्थानमा थप कालोपत्र गर्ने काम पनि भइरहेका छन्।

दाउन्ने क्षेत्रमा प्राथमिकताका साथ काम अघि बढाइएको छ। त्यहाँ कल्भर्ट निर्माण अन्तिम चरणमा पुगेको र चैतभित्र ढलानसहितका काम सक्नेगरी निर्माण भइरहेको खनालले बताए।

‘दाउन्नेमा कामलाई बढी गति दिएका छौँ। चैतसम्ममा बाँकी रहेका करिब १४ प्रतिशत काम पूरा गर्न सकिन्छ,’ उनले भने ।

२०७५ माघ २४ मा सम्झौता भएर चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले २०७९ साउन २२ भित्र काम सम्पन्न गर्नेगरी विस्तार कार्य सुरु गरेको थियो।

निर्धारित समयमा काम नसकिने देखिएपछि २०८१ साउन ८ सम्मका लागि दोस्रोपटक म्याद थपिएको थियो। त्यसपछि तेस्रो पटक २०८२ साउन ८ सम्म म्याद लम्ब्याइएको र अहिले चौथो पटक म्याद थपेर काम अगाडि बढाइँदैछ।

एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा अघि बढाइएको यस सडक विस्तार योजनाको कुल लागत १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ।

११३ किलोमिटरमध्ये ७० किलोमिटरमा चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ छ–छ मिटरका सर्भिस लेन रहनेछ। दाउन्ने क्षेत्रका १४ किलोमिटरमा तीन लेन सडक निर्माण गरिँदैछ।

सिफारिस