काठमाडौं । सरकारले विदेशी मह आयात खुला र पराल ढुवानीमा रोक लगाई किसानविरोधी निर्णयहरू गरेको भन्दै किशान समुहहरुले आपत्ति जनाएका छन् । अखिल नेपाल किसान महासंघ ९क्रान्तिकारी केन्द्र० ले एक विज्ञप्ती जारी गर्दै सरकारको निर्णयप्रति आपत्ति जनाएका हुन् ।
अखिल नेपाल किसान महासंघ ९क्रान्तिकारी केन्द्र०का अध्यक्ष चित्रबहादुर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा सरकारी निर्णयले किसानहरूको जीवनयापन संकटमा परेको उल्लेख छ।
नेपालको दुईतिहाइ जनसंख्या कृषि पेशामा निर्भर हुँदा सामान्य नीतिगत निर्णयले पनि ठूलो प्रभाव पार्ने हुँदा सरकारले सावधानी अपनाउनुपर्नेमा त्यसको उल्टो किसानमाथि प्रत्यक्ष असर पर्ने काम गर्दै आएको बताइएको छ।
विदेशी मह आयातको निर्णय किसानविरोधी रहेको किसान संघको ठहर छ । विगत केही वर्षदेखि विदेशी मह आयातमा प्रतिबन्ध हुँदा पनि महको पर्याप्त बजार नपाएर माहुरीपालक किसानहरू समस्यामा रहेको उल्लेख गर्दै सरकारले ‘कानुन विपरीत’ विदेशी मह आयात खुला गर्ने निर्णय गरेको आरोप लगाइएको छ।
विज्ञप्तिमा यो निर्णय विदेशीको इशारामा नेपाली मह उत्पादन व्यवसायलाई ध्वस्त पार्ने षड्यन्त्र भएको दाबी गर्दै तुरुन्त फिर्ता लिन माग गरिएको छ। साथै माहुरीपालक किसानलाई तालिम, अनुदान र उद्योगको अनुगमनमार्फत स्वदेशी मह उत्पादन प्रवर्द्धन गर्न पनि आग्रह गरिएको छ।
धान–पराल संकलन र वितरणको मुख्य समयमा तराइका जिल्लाहरूमा पराल ढुवानी रोकिएको भन्दै विज्ञप्तिमा गम्भीर आपत्ति व्यक्त गरिएको छ।
पराल हलुका हुने तथा उँचो चाङ लगाएर ढुवानी गर्ने चलन वर्षौंदेखि सामान्य रहेको भए पनि भँवरलोड र ओभरलोडको नाममा प्रहरीले प्रतिट्रक ५००–१,००० रुपैयाँ घुस लिएर मात्र गाडी छाड्ने गरेको र अहिले पूर्णरूपमा ढुवानी बन्द गरिदिएको आरोप लगाइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘‘यो कदम पहाड र काठमाडौँमा पराल नपुग्ने, तराइमा भाउ घटाएर भारत निर्यात बढाउने र स्वदेशी किसानलाई निरुत्साहित गर्ने जनघाती निर्णय हो।’’
यसमा संलग्न प्रहरी कर्मचारीमाथि कारबाही गर्न र पराल ढुवानी तुरुन्त सहज बनाउन माग गरिएको छ।
जेन्जी प्रदर्शनका बलिदानीहरूको सम्मान गर्दै बनेको वर्तमान सरकारले ‘‘जनविरोधी तथा राष्ट्रघाती निर्णयहरू’’ गर्दै गएको आरोप लगाउँदै अध्यक्ष श्रेष्ठले यस्ता गतिविधि रोक्न चेतावनी दिएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘‘यस्ता निर्णय रोकिएनन् भने किसानहरू देशभर संघर्षमा उत्रन बाध्य हुनेछन्।’’