महिला हत्या प्रकरणका फरार अभियुक्त रुपन्देहीको बेलहियाबाट पक्राउ

दियोपोस्ट संवाददाता  

लमजुङको बेसीशहर नगरपालिका-२ भकुण्डे निवासी ४५ वर्षीया सिता कँडेलको हत्यामा संलग्न भएको आरोपमा फरार रहेका ४७ वर्षीय बुद्धिराम दराईलाई प्रहरीले पक्राउ गरेको छ। उनी चितवनको तत्कालीन बछौली गाविस–१ (हाल रत्ननगर नगरपालिका–६) का बसिन्दा हुन्।

सिता कँडेल २०८१ चैत ३१ गते आफ्नै घरभित्र मृत भेटिएकी थिइन्। उक्त घटनामा संलग्न भएको अभियोगमा जिल्ला अदालत लमजुङले २०८२ वैशाख १५ गते दराईविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। सोपछि फरार रहँदै आएका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरीले रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट बिहीबार पक्राउ गरेको हो।

दराईलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय लमजुङमा पठाइएको प्रहरीले जनाएको छ।

सिफारिस