जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादव आज शपथ लिने भएका छन् । शुक्रबार मुख्यमन्त्री पदमा नियुक्त भएका यादवले आइतबार दिउँसो पद तथा गोपनीयताको शपथ लिने भएका हुन् ।
शपथग्रहणका लागि आवश्यक तयारी पूरा भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । यससंगै यादवले आजै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारी समेत गरेका छन्।
यसअघि संविधानको धारा १६८(३) अनुसार ठूलो दलका तर्फबाट एमाले संसदीय दलका नेता सरोज कुमार यादव मंसिर १७ गते मुख्यमन्त्री बनेका थिए। तर विश्वासको मत लिन कठिन परिस्थिति देखिएपछि उनले पदबाट राजीनामा दिए।
एमाले नेतृत्वको सरकारविरुद्ध सातदलीय गठबन्धनले कार्तिक २३ गते राति सर्वोच्च अदालतमा रिट दायर गरेपछि सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो।
विश्वासको मत पाउन नसक्ने स्थितिमा पुगेपछि सरोज कुमार यादवले राजीनामा दिए र त्यसपछि कांग्रेस नेता कृष्णप्रसाद यादवले कांग्रेस, जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादी सहितका ७७ सांसदहरूको समर्थनमा सरकार गठनको दाबी पेश गर्न सफल भएका हुन्।