क्यानका महानिर्देशक प्रदीप अधिकारीको मुद्धामा विशेष अदालतमा थुनछेक बहस जारी

दियोपोस्ट संवाददाता  

काठमाडौँ । भक्तपुर नलिन्चोकस्थित हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचार मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीको विशेष अदालतमा थुनछेक बहस जारी रहेको छ। न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा बहस भइरहेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोपमा अधिकारीसहित सात जनाविरुद्ध गत बुधबार मुद्दा दायर गरेको थियो। अदालतमा अधिकारी, अन्य छ जनासहित परामर्शदाता कम्पनीलाई पनि प्रतिवादी बनाएर मुद्दा पेश गरिएको छ।

साढे १७ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हेलिपोर्ट हालसम्म पूर्णरूपमा सञ्चालनमा आएको छैन । यद्यपि, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १५ किलोमिटर पूर्वमा रहेको हेलिपोर्ट ७ असार ०८१ देखि व्यावसायिक सञ्चालनका लागि खोलिएको थियो।

अख्तियारको निष्कर्षअनुसार हेलिपोर्ट असुरक्षित, अनुपयुक्त स्थान,आवश्यक व्यावसायिक योजना र लागत अध्ययन बिना निर्माण गरिएको पाइएको छ। बदनियतपूर्वक आयोजना अघि बढाइएको, कानुन उल्लङ्घन गरिएको र प्रक्रियागत कमजोरी देखिएको आयोगले जनाएको छ।

निर्माण उद्देश्यअनुसार हेलीपोर्ट सञ्चालनमा नआउँदा सार्वजनिक सम्पत्तिको क्षति र दुरुपयोग भएको पुष्टि भएको आयोगको भनाइ छ।

भ्रष्टाचारमा संलग्न ठहर गर्दै अधिकारी र तत्कालीन निर्देशक मुरारी भण्डारीलाई अख्तियारले पक्राउ गरेर मुद्दा सहित अदालतमा उपस्थित गराएको थियो।

उक्त मुद्धामा प्रबन्धक नलविक्रम थापा र उपप्रबन्धक इन्जिनियर सवृद्धि श्रेष्ठलाई समेत प्रतिवादी बनाईएको छ ।

सवै प्रतिवादीविरुद्ध जनही १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बिगो निर्धारण गरिएको छ। यही बिगो कायम गर्दै अख्तियारले परामर्शदाता गुरुदत्त अधिकारी, अभियन्त्र कन्सल्टिङ प्रा.लि. तथा त्यसका तत्कालीन सञ्चालक विजय थापाविरुद्ध पनि मुद्दा दायर गरेको छ।

सिफारिस