भ्रष्टाचारको आरोपमा ‘राष्ट्रिय आवास कम्पनी’ पुनर्वास शाखा प्रमुखको मुखमा नेकपा बहुमतका युवाले दले गोबर (भिडियाे)

दियोपोस्ट संवाददाता  

काठमाडौँ । राष्ट्रिय आवास कम्पनी पुनर्वास शाखाका प्रमुख महेन्द्र थापालाई नेकपा (बहुमत) निकट कम्युनिस्ट युवा संगठन नेपालले जनकारबाही गरेको छ । अनियमितता, भ्रष्टाचार तथा दुरुपयोगका गतिविधि दोहोर्याएको भन्दै थापालाई मुखमा गोबर दलेर ‘सांकेतिक जनकारबाही’ गरिएको बताएको हो।

कम्युनिस्ट युवा संगठनले थापालाई कारबाही गर्नु पर्ने कारण उल्लेख गर्दै सार्वजनिक विज्ञप्ति समेत जारी गरेको छ । कम्युनिस्ट युवा संगठन ५ नम्बर ब्युरोका इन्चार्ज मिलन थापाद्वारा जारी गरिएको उक्त विज्ञप्तीमा स्थानीय बासिन्दा तथा सरोकारवालाबाट प्राप्त उजुरी, निवेदन र गुनासोका आधारमा कारबाही गरिएको बताइएको छ।

संगठनका अनुसार स्थानीयवासीले संरक्षण गर्दै आएको बर्दघाट–चिसापानीस्थित दमा सेन्टर क्षेत्र अन्तर्गत साविक माकर–२, ग.क.न. १३१० मा रहेको ८ विगाहा २ कत्ता १२ धुर जग्गा “गोप्य बोलपत्र सेटिङ” मार्फत तिमिल्सिना ट्रेडर्ससँग मिलेर बिक्री गरिएको दाबी गरिएको छ। बारम्बार माग गर्दा पनि सो जग्गा फिर्ता नगरिएको आरोप छ।

त्यस्तै, विज्ञप्तीमा साविक दाउन्नेदेवी गाविसअन्तर्गत कावासोती नगरपालिकाको १५ कित्ता जग्गा अवैध रूपमा संजय क्षेत्रीलाई वितरण गरिएको आरोप लगाइएको छ।

थापाले आफ्नो पदको दुरुपयोग गर्दै पत्नी द्रोणशोभा गाम्छाकी मगरलाई शाखा अधिकृत र भाउजू सुनिता मगरलाई करारमा नियुक्त गरेको संगठनको आरोप छ।

त्यस्तै, कम्पनीको जग्गा रेकर्डसमेत नराखी विभिन्न व्यक्तिसँग मिलेमतोमा बिक्री गरी करोडौँ अनियमितता गरेको र भूमाफियालाई योजनाबद्ध रूपमा अदालतमा मुद्दा दायर गराई कम्पनीतर्फबाट कमजोर बहस गराएर जग्गा हिनामिना गराएको दाबी संगठनले गरेको छ।

थापालाई माफियाको योजनाअनुसार बोलपत्र निकाल्ने तथा सरकारी दरभन्दा कम मूल्यांकन गराएर आर्थिक चलखेल गरेको आरोपसमेत लगाइएको छ।

उनीमाथि वास्तविक जग्गाधनीलाई पुर्जा दिँदा सरकारी राजस्वबाहेक प्रतिधुर १० हजार रुपैयाँ “घुस कमिसन” उठाएर ठूलो परिमाणमा रकम असुलेको आरोप छ ।

संगठनले विज्ञप्तिमार्फत आगामी दिनमा आफ्ना गतिविधि सच्याउन, जनतालाई दुःख नदिन तथा भ्रष्टाचारजन्य काम नगर्न चेतावनी दिइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘कमजोरीहरू सच्याइएन भने संगठन थप कठोर कदम चाल्न बाध्य हुनेछ।’

कम्युनिस्ट युवा संगठन, नेपालले देशभर जनविरोधी गतिविधिमा संलग्न व्यक्ति तथा समूह विरुद्ध अभियान चलाइरहेको बताउँदै भ्रष्टाचार अहिले केन्द्रदेखि स्थानीय तहसम्म ‘महारोग’ बनेको उल्लेख गरेको छ।

बहुमतका कार्यकर्ताले थापालाई गोबर दलेपछि नाराबाजी समेत गरेका थिए ।

भिडियाे: 

 

सिफारिस