काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ८ अर्ब रूपैयाँभन्दा बढी अनियमितता भएको निष्कर्ष निकाल्दै पाँच जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अख्तियारले एक चिनियाँ कम्पनीसमेत प्रतिवादी बनाएको छ।
आइतबार दायर गरिएको मुद्दामा कुल ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रूपैयाँ बिगो कायम गरिएको छ। मुद्दा दायर गरिएका पूर्वमन्त्रीहरूमा पोस्टबहादुर बोगटी, डा. रामशरण महत, भीम आचार्य, रामकुमार श्रेष्ठ र दीपक अमात्य रहेका छन्।
पूर्वमन्त्री बोगटीको निधन भएकाले बिगो जफत प्रयोजनका लागि उनकी पत्नी राममाया बोगटीलाई प्रतिवादी बनाइएको हो। त्यस्तै, अल्जाइमरका कारण स्मृतिभ्रष्ट भएका डा. महत पनि प्रतिवादीमा परेका छन्।
मुद्दामा परेकामध्ये डा. महत पूर्वअर्थमन्त्री हुन् भने अन्य चारैजना पूर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुन्।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पनि यस मुद्दामा प्रतिवादी बनाइएका छन्। भक्तपुर नलिञ्चोक हेलिपोर्ट भ्रष्टाचार प्रकरणमा मुछिएका अधिकारी पोखरा विमानस्थलसम्बन्धी अनियमिततामा पनि संलग्न देखिएको अख्तियारको दाबी छ। त्यस्तै, समावेशी आयोगका पूर्वअध्यक्ष रामकृष्ण तिमिल्सिना पनि प्रतिवादीको सूचीमा परेका छन्।
अख्तियारले विशेष अदालतमा तीन फरक विषयमा छुट्टाछुट्टै अनुसन्धान चलिरहेको जानकारी दिएको छ। त्यसमा विमानस्थल निर्माणका क्रममा मूल सम्झौता विपरीत चिनियाँ कम्पनीलाई दिइएको कर छुटसम्बन्धी अनियमितता पनि समावेश छ, जसबारे संसदको सार्वजनिक लेखा समितिले समेत शंका व्यक्त गरेको थियो।