मुस्ताङका उच्च लेकमा ‘क्यामेरा ट्यापिङ’ मार्फत हिउँ चितुवा अनुसन्धान सुरु

दियोपोस्ट संवाददाता  

काठमाडौँ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको वास्तविक संख्या पत्ता लगाउन ‘क्यामेरा ट्यापिङ’ प्रविधिमार्फत औपचारिक अध्ययन सुरु गरिएको छ। बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमको संयुक्त समन्वयमा उच्च लेक क्षेत्रमा क्यामेरा जडान गरी अनुसन्धान कार्य अघि बढाइएको हो।

हिउँ चितुवाको वास्तविक संख्या पुष्टि गर्न, यसको आहारा प्रजातिको अवस्था बुझ्न, मानव–हिउँ चितुवा द्वन्द्व मूल्यांकन गर्न तथा जलवायु परिवर्तनले चितुवाको बासस्थानमा पारेको असरको अध्ययन नै यसको उदेश्य रहेको बताइएको छ ।

बायोकोस नेपालका फिल्ड बायोलोजिस्ट बुद्धिबहादुर गुरुङका अनुसार वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका झोङ, पुडाक, छेङ्गुर, थोरङफेदी, फल्याक, धार्काजुङ तथा मुस्ताङ-डोल्पा सडकखण्ड नजिकका उच्च क्षेत्रहरूमा गत हप्तादेखि १५ वटा क्यामेरा जडान गरिएको छ।

आजदेखि घरपझोङ गाउँपालिकाको स्याङ, मार्फा र चिमाङ क्षेत्रका उच्च लेकमा पनि थप क्यामेरा जडान गर्ने तयारी छ। क्यामेरा जडान कार्यमा बायोकोसका बायोलोजिस्ट गुरुङ र सहायक प्रवीन लामा, तथा एक्याप जोमसोमका प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओली खटिएका छन्।

जडान गरिएका क्यामेरा करिब दुई महिना उच्च लेक क्षेत्रमा राखिनेछ। उक्त अवधि सकिएपछि क्यामेरामा कैद भएका तस्वीर तथा भिडियोका डाटा संकलन गरिनेछ। ‘दुई महिनापछि क्यामेरा झिकेर सफ्टवेयरमार्फत डाटा विश्लेषण गर्छौं र सबै विवरण एक्यापलाई हस्तान्तरण गरिन्छ,’ गुरुङले बताए।

बायोकोस नेपालले अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न भागमा यसअघिदेखि नै हिउँ चितुवाको निगरानी र अध्ययन गर्दै आएको छ।

२०२२ देखि लगातार चार वर्ष मनाङमा नियमित क्यामेरा ट्यापिङ गरिएको भए पनि मुस्ताङमा यस्ता गतिविधि यस वर्ष पहिलोपटक व्यवस्थित रूपमा अघि बढाइएको गुरुङले बताए।

यससँगै माथिल्लो मुस्ताङमा पनि एक पीएचडी शोधकर्ताले छुट्टै परियोजनामार्फत हिउँ चितुवाको अध्ययन सुरु गरेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिए।

यद्यपि यसअघि पटक–पटक अध्ययन भए पनि मुस्ताङमा कति सङ्ख्यामा हिउँ चितुवा छन् भन्ने तथ्य अझै यकिन हुन सकेको छैन। हालका वर्षहरूमा हिउँ चितुवा र मानवबीचको द्वन्द्व बढ्दो क्रममा छ।

उच्च लेक क्षेत्रमा घाँस र पानीको स्रोत घट्दै जाँदा हिउँ चितुवाको आहारा प्रजाति नाउर पनि तल झर्ने गरेको पाइएको छ, जसका कारण चितुवा समेत खोल्सो तथा बस्तीछेउ पुग्ने र पशुचौपायामा क्षति पुर्‍याउने घटना बढेका छन्।

जलवायु परिवर्तनका प्रभावले हिउँ चितुवाको प्राकृतिक बासस्थान सङ्कुचित हुँदै गएको र मानव–वन्यजन्तु सहअस्तित्व व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको संरक्षणकर्मीहरूको मूल्यांकन छ। तापक्रम वृद्धिसँगै कम उचाइमा बस्ने सामान्य चितुवा समेत क्रमशः माथिल्लो क्षेत्रमा सर्दै जाने घटना देखिन थालेको बताइन्छ।

सिफारिस