काठमाडौं । काठमाडौं महानगरपालिका–४ को आयोजनामा सम्पन्न अन्तरविद्यालय खुला फुटसल प्रतियोगिताको उपाधि बाँसबारी माध्यमिक विद्यालयले जितेको छ। बालुवाटारमा आयोजित फाइनल खेलमा बाँसबारीले साइपाल एकेडेमीलाई ४–१ गोलअन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भयो।
उपाधि यात्राका क्रममा बाँसबारीले सेमिफाइनलमा ब्रुकलिन इन्टरनेसनल सेकेन्डरी स्कुललाई ७–१ को फराकिलो अन्तरले हराएको थियो। अर्को सेमिफाइनलमा साइपाल एकेडेमीले युनिभर्सल इंग्लिस स्कुललाई ३–२ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।
तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा ब्रुकलिन इन्टरनेसनल सेकेन्डरी स्कुलले युनिभर्सल इंग्लिस स्कुललाई १–० ले हरायो। नकआउट प्रणालीमा सञ्चालन गरिएको प्रतियोगितामा १६ विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई काठमाडौं महानगरपालिका वडा नं। ४ का अध्यक्ष दिनेश महर्जनलगायतले ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरे।
बाँसबारी माध्यमिक विद्यालयका विवेक मगर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए भने साइपाल एकेडेमीका आदित्यकुमार मिश्र उत्कृष्ट गोलरक्षक घोषित भए।