एमाले उपाध्यक्ष पौडेल पक्राउ, सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा २१ आकर्षित

दियोपोस्ट संवाददाता  

काठमाडौं नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा सोमबार साँझ सुर्खेतबाट पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुरको अनुरोधमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले उनलाई वीरेन्द्रनगरबाट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार विभागले इमेलमार्फत पठाएको पक्राउ पुर्जीका आधारमा खोजी गर्ने क्रममा पौडेललाई सोमबार साँझ करिब ५:१५ बजे वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ स्थित शुभ होटलबाट नियन्त्रणमा लिइएको हो।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा २१ बमोजिम आवश्यक कारबाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (प्र.नि.) श्यामप्रसाद यादवको जिम्मा लगाइएको छ।

पौडेललाई सुर्खेतमा नियन्त्रणमा लिनुअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले ललितपुर महानगरपालिका वडा नं. २५, भैंसेपाटी (सैबु आवास आयोजना) स्थित उनको निजी निवासमा छापा मारेको खुलेको छ। पौडेलले गरेको ठूलो परिमाणको सेयर कारोबार र उनको सम्पत्तिको शंकास्पद स्रोतमाथि विभागले अनुसन्धान गरिरहेको  थियो।

पार्टीको बैठक चलिरहेकै बेला नियन्त्रणमा

एमाले उपाध्यक्ष पौडेल पार्टीको आन्तरिक कार्यक्रमका सिलसिलामा सुर्खेत पुगेका थिए। एमालेले हाल सबै प्रदेशहरूमा ‘पार्टी पुनर्गठन तथा निर्वाचन समीक्षा सुझाव सङ्कलन’ अभियान चलाइरहेको छ। वीरेन्द्रनगरको शुभ होटलमा आयोजित कर्णाली प्रदेशस्तरीय कार्यक्रममा सहभागी भइरहेकै बेला प्रहरी टोलीले उनलाई जरुरी पक्राउ पुर्जी बुझाएर नियन्त्रणमा लिएको थियो।

उक्त कार्यक्रममा एमालेका महासचिव शङ्कर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा र नेता रामबहादुर थापा ‘बादल’ लगायतका शीर्ष नेताहरूको उपस्थिति थियो। शीर्ष नेताहरूकै अगाडि उपाध्यक्ष पौडेल पक्राउ परेपछि एमाले वृत्त र राष्ट्रिय राजनीतिमा तरङ्ग पैदा भएको छ।

 सरकारले २०६३ सालयताका पूर्वकर्मचारी, राजनीतिज्ञ तथा सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग गठन गरेको छ। आयोगले सम्पत्ति विवरण बुझाउन जेठ मसान्तसम्मको म्याद दिएकोमा हालै पुनः एक महिना थप गरेको थियो। म्याद नसकिँदै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री पौडेलमाथि प्रत्यक्ष एक्सन लिएको हो। पक्राउ परेका पौडेललाई काठमाडौँ ल्याएर थप अनुसन्धान अघि बढाउने तयारी भइरहेको छ।

सिफारिस