काठमाडौँ । पोखरा महानगरपालिका-१७ बिरौटाकी मोनिका सुनारले आफ्ना ८ वर्षीय छोरा एल्भिन सुनारको जीवन रक्षाका लागि अपिल गरेकी छन् । विगत तीन वर्षदेखि क्यान्सरसँग जुधिरहेका एल्भिनको उपचारका लागि आर्थिक अभाव भएको भन्दै उनले सहयोगका लागि अपिल गरेकी हुन् ।
एल्भिनलाई चार वर्षको हुँदा पहिलोपटक ब्लड क्यान्सर देखा परेको थियो। छोराको उपचारका लागि मोनिका र उनको परिवारले कुनै कसर बाँकी राखेन। भरतपुरस्थित क्यान्सर अस्पतालमा लामो समयसम्म उपचार गराए पछि ब्लड क्यान्सर निको भई ६ महिनापछि पूनः बोनम्यारो क्यान्सर देखा परेको मोनिकाले बताइन् ।
‘त्यतिबेला महिनौँसम्म अस्पतालका बेड र औषधिहरूमाझ बिते। बाबुको उपचारमा कुनै कमी हुन दिएनौँ । डाक्टरहरूले एल्भिनको शरीरमा क्यान्सर छैन भन्नु भयो । मेरा खुसीको सिमा रहेन,’ मोनिकाले बिगत सम्झिदै भनिन्, ‘त्यो दिन हाम्रो परिवारमा गुमेको खुसी र जीवन दुबै फिर्ता भएको थियो । घरमा फेरि हाँसो फर्किएको थियो। हामीले सोँचेका थियौँ,-अब दुःखका दिन सकिए।’
तर मोनिकाको खुसी धेरै टिन टिकेन । नियतिले मोनिका र उनको परिवारलाई फेरि अर्को चोट दियो। अस्पतालबाट निको भयो भनेर घर फर्किएको करिब छ महिनापछि एल्भिनको स्वास्थ्यमा फेरि समस्या देखिन थाल्यो। मोनिका एल्भिनलाई लिएर पुनः भरतपुर क्यान्सर अस्पताल पुगिन् । अस्पतालको रिपोर्ट आयो, तर यसपटकको रिपोर्टपछि मोनिकाले जीवनमा फेरि अर्को भुकम्पको धक्का महसुस गरिन् । उनको मुटु नै चिथोरियो । डाक्टरहरूले एल्भिनलाई बोनम्यारो क्यान्सर भएको बताएका थिए ।
चिकित्सकहरूले प्रभावकारी उपचारका लागि भारत लैजानु पर्ने र उपचारका लागि ५० लाखदेखि १ करोड रुपैयाँसम्म खर्च लाग्न सक्ने बताए पछि मोनिका बिछिप्त बनिन् । ‘यति ठूलो रकम जुटाउने हाम्रो क्षमता छैन। उपचार सुरु भएको छैन, औषधिसमेत दिइएको छैन। घरमै बस्दा रोग झन् फैलिरहेको छ,’ मोनिकाले दुःख व्यक्त गरिन्।
एल्भिनको उपचारका लागि पहिले नै गर-गहना बेचेर उपचार खर्च जुटाएको मोनिका बताउउँछिन् । ‘अहिले त बेच्नका लागि केही बाँकी छैन । परिवारको नाममा छिनको छानो भएको सानो घर मात्र छ । त्यो पनि बेच्यो भने बुढा भएका सासु-ससुरालाई कहाँ लगर राख्ने?’ मोनिकाले दुखोसो पोखिन् ।
एल्भिनका बुबा वैदेशिक रोजगारीका क्रममा दुबईमा छन्। छोराको उपचारका लागि उनी पनि नेपाल फर्किने तयारीमा छन्। तर आर्थिक अवस्था कमजोर बन्दै गएपछि दैनिक गुजरा चलाउन समेत मुस्किल भएको भन्दै मोनिकाले चिन्ता ब्यक्त गर्छिन् ।
आर्थिक अभावका कारण एल्भिनको उपचार समयमा हुन नसकेको भन्दै मोनिकाले सहयोगका लागि आग्रह गरेकी छन् । ‘मेरो छोरालाई बचाउनु नै अहिले मेरो जीवनको सबैभन्दा ठूलो सपना हो। पैसा अभावले उसको उपचार रोकिएको छ। सहयोगी मनहरूले सकेको सहयोग गरेर मेरो छोराको जीवन बचाइदिनुहोस्,’ मोनिकाले भावुक हुँदै अनुरोध गरिन्।
समयमै बोनम्यारो प्रत्यारोपण तथा आवश्यक उपचार गर्न नसके एल्भिनको स्वास्थ्य अवस्था झन् जटिल बन्न सक्ने भन्दै मोनिकाले चिन्ता व्यक्त गरेकी छन् । एल्भिनका नाममा खोलिएको सिद्धार्थ बैंकको अकाउण्ट नम्बर ५५५०२४६३४६६ मा रकम जम्मा गरि आर्थिक सहयोगका लागि अपिल गरिएको छ ।


Screenshot