काठमाडौं । निर्माण तथा पूर्वाधार क्षेत्रमा प्रयोग हुने आधुनिक उपकरणको वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले एम.ए.डब्लु.अर्थमुभर्स प्रालि र ग्लोबल आइएमई बैंक लिमिटेडबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा एम.ए.डब्लु. अर्थमुभर्सका एफ एण्ड आर प्रमुख सञ्जय देव यादव तथा ग्लोबल आइएमई बैंकका एसएमई तथा रिटेल बैंकिङ प्रमुख नरहरि सिलवालले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार जेसीबी निर्माण उपकरण खरिद गर्न इच्छुक ग्राहकले ग्लोबल आइएमई बैंकमार्फत विशेष हायर पर्चेज कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। नेपाल राष्ट्र बैंकको प्रचलितनेपाल राष्ट्र बैंकको प्रचलित Loan to Value (LTV) मापदण्डअनुसार बैंकले उपकरणको मूल्यको अधिकतम ८० प्रतिशतसम्म वित्तीय सहायता उपलब्ध गराउने जनाएको छ।
कर्जा प्रक्रियालाई छिटो र सहज बनाउन आवश्यक कागजात तथा प्रक्रिया पूरा भएको एक साताभित्र डेलिभरी अर्डर (डीओ) जारी गरिने व्यवस्था गरिएको छ। साथै, जेसीबी उपकरण खरिदका लागि अधिकतम पाँच वर्षसम्मको कर्जा अवधि उपलब्ध हुनेछ।
दुवै संस्थाबीचको यो सहकार्यले निर्माण व्यवसायी, ठेकेदार तथा उद्यमीहरूलाई आधुनिक उपकरण खरिदका लागि सहज वित्तीय पहुँच उपलब्ध गराउँदै व्यवसाय विस्तारमा टेवा पुर्याउने अपेक्षा गरिएको छ। विशेषगरी साना तथा मझौला व्यवसायीले प्रतिस्पर्धी वित्तीय सुविधामार्फत आधुनिक उपकरणमा लगानी गर्न सक्ने विश्वास गरिएको छ।
एम।ए।डब्लु। अर्थमुभर्सको देशव्यापी बिक्रीपछिको सेवा सञ्जाल, जेसीबीका विश्वसनीय निर्माण उपकरण तथा ग्लोबल आइएमई बैंकको वित्तीय सेवाको संयोजनले ग्राहकलाई उपकरण खरिददेखि सञ्चालन र मर्मतसम्भारसम्म एकीकृत समाधान प्रदान गर्ने कम्पनीले जनाएको छ।
दुवै संस्थाले ग्राहक सुविधा, व्यावसायिक वृद्धि तथा नेपालको निर्माण र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी दिनमा थप ग्राहकमैत्री सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।