बनेपा । प्रधानमन्त्री सुशीला कार्कीले गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना देशमै पूरा गर्ने राष्ट्रिय आकांक्षा ‘जेनजी आन्दोलन’ मार्फत अझ सशक्त हुँदै गएको बताएकी छन् ।
बुधबार काठमाडौं विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोहको पहिलो चरणलाई सम्बोधन गर्दै उपकुलपतिसमेत रहनुभएका प्रधानमन्त्री कार्कीले विश्वभर उच्च शिक्षामा तीव्र र अकल्पनीय परिवर्तन आइरहेको उल्लेख गरिन् ।
उनले आर्टिफिसियल इन्टेलिजेन्स, भर्चुअल रियालिटी, बढ्दो बसाइँसराइ र भूराजनीतिक परिवर्तनोंले शिक्षामा नयाँ धार ल्याएको भन्दै नेपालले पनि ती परिवर्तनलाई आत्मसात गर्ने अपेक्षा राखे पनि उच्च शिक्षामा हुने लगानी पर्याप्त नभएको टिप्पणी गरिन् ।
प्रधानमन्त्री कार्कीका अनुसार लगानी वृद्धि नगरी उच्च शिक्षा क्षेत्रमा रहेका आकांक्षा पूरा गर्न सम्भव नभएको बताइन् । उनले उच्च शिक्षामा गैरराजनीतिक वातावरण आवश्यक रहेको भन्दै शैक्षिक प्रशासनमा दलीय हस्तक्षेपका कारण निरन्तर प्रतिकूल असर परेका चुनौती कम गर्न सरकारले केही ठोस कदम चालिसकेको जानकारी दिइन् ।
समारोहमा जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्रा. शान्तिश्री धुलिपुडी पण्डितले विद्यार्थीलाई प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गर्न आग्रह गरिन् ।
उपकुलपति प्रा.डा. अच्युत वाग्लेले पछिल्लो ६ वर्षमा ३ लाख ५० हजारभन्दा बढी नेपाली विद्यार्थी उच्च शिक्षा लागि विदेशिएको र त्यसबाट करिब १० अर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्रा बाहिरिएको जानकारी दिए । चालू शैक्षिक सत्रमा मात्र विद्यार्थी भर्ना विगत वर्षको तुलनामा २३ प्रतिशतले वृद्धि भएको उनले बताए ।
उनका अनुसार अन्तर्राष्ट्रिय सहकार्य र साझेदारी विस्तारका क्रममा विश्वका विभिन्न शिक्षण संस्थासँग ३०० वटा सम्झौता भएका छन्। साथै, हिन्दुकुश हिमालय क्षेत्र र बाहिरका १००भन्दा बढी विश्वविद्यालयको सञ्जाल ‘हिमालय युनिभर्सिटिज कन्सोर्टियमको सचिवालय काठमाडौं विश्वविद्यालयमा हस्तान्तरण भई स्थापना भएको जानकारी दिए ।
यस वर्षको दीक्षान्त समारोह (पहिलो चरण) मा कुल २,२०९ विद्यार्थी दीक्षित भएका छन्। स्कुल अफ आर्टसबाट ८३, शिक्षा स्कुलबाट २९४, इन्जिनियरिङबाट ३४०, कानुनबाट ३६, म्यानेजमेन्टबाट ३७८, मेडिकल साइन्सेजबाट ८८१ र साइन्सबाट १९७ विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ।
दीक्षितमध्ये सात जना पीएचडीरडीएमरएमसीएच, ३९७ जना स्नातकोत्तर, ५० जना पीजीडी र १,७२८ जना स्नातक तहका विद्यार्थी छन्। तीमध्ये ५२।२४ प्रतिशत ९१,१५४० पुरुष र ४७।७६ प्रतिशत ९१,०५५० महिला छन्। १७ देशका १९६ विदेशी विद्यार्थीसमेत यस पटक दीक्षित भएका छन्।
यस वर्ष पहिलोपटक स्कुल अफ साइन्सेज अन्तर्गत ‘मास्टर अफ फिलोसफी बाइ रिसर्च इन म्याथमेटिक्स’ मा एक जना तथा ‘बिएससी एग्रिकल्चर’ मा २९ जना दीक्षित भए।
स्कुल अफ मेडिकल साइन्सेजमा पनि पहिलोपटक ‘मास्टर्स अफ मेडिकल रिसर्च’ का २० विद्यार्थी दीक्षित भएका छन्। यस दीक्षान्तसहित काठमाडौं विश्वविद्यालयबाट हालसम्म दीक्षितको संख्या ५०,०४० पुगेको छ, जसमा ५८६० विदेशी विद्यार्थी रहेको विश्वविद्यालयले जनाएको छ।
समारोहमा उत्कृष्ट शैक्षिक नतिजाका आधारमा विभिन्न पदक प्रदान गरिएको थियो। स्नातकोत्तर तहमा सबैभन्दा उच्च न्एब् हासिल गरेबापत स्पेनका एमसाइट कास्टेलानो मेन्चाका ‘चान्सलर स्वर्णपदक’ले सम्मानित भए।
स्नातक तहमा उत्कृष्ट हुने गौरव सिंह साउदले ‘भाइस चान्सलर स्वर्णपदक’ प्राप्त गरे। साथै, अरुणा बुढाथोकीले ‘जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक’, सौगात दङ्गालले ‘रणबहादुर शाह स्वर्णपदक’, रक्षा तिवारीले ‘न्हुछेरत्न तुलाधर स्वर्णपदक’, स्वस्तिका आचार्यले ‘प्रेमराज पन्त स्वर्णपदक’ र आल्सा रेग्मीले ‘दिनेश थापा स्वर्णपदक’ प्राप्त गरे ।