‘ऐतिहासिक भीड’को प्रमाण भन्दै प्रचार गरिएको एमाले महाधिवेशन तस्बिर ‘एआई’द्वारा निर्मित

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनसँग जोडेर सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको तस्बिर वास्तविक नभएको पुष्टि भएको छ। ड्रोनबाट खिचिएको जस्तो देखिने अत्यन्त ठूलो जनसागर देखाइएको उक्त तस्बिर वास्तवमा एआई (कृत्रिम वौद्धिकता ) प्रयोग गरेर तयार गरिएको फोटो भएको पाइएको हो।

उक्त तस्बिरलाई एमालेका शीर्ष नेतादेखि कार्यकर्ता तथा समर्थकहरूले समेत वास्तविक भन्दै फेसबुक, एक्स (ट्विटर), टिकटकलगायत सामाजिक सञ्जालमा शेयर गरेका छन्।
कतिपयले यसलाई ‘ऐतिहासिक भीड’ को प्रमाण भन्दै प्रचार गरेका छन्। तर उक्त तस्बिर वास्तविक नभई डिजिटल रूपमा सिर्जना गरिएको हो ।

तस्बिरमा देखाइएको भीड अस्वाभाविक रूपमा समान ढाँचामा दोहोरिएको, मानिसहरूको अनुहार र शरीरको बनावट अस्पष्ट तथा दूरीअनुसार असन्तुलित देखिन्छ।

यस्ता संकेतहरू सामान्यतया एआईद्वारा निर्मित तस्बिरमा देखिने विशेषता हुन्। साथै, तस्बिरमा देखाइएको स्थान, मञ्चको बनावट र वास्तविक महाधिवेशन स्थलका आधिकारिक तस्बिरबीच समेत स्पष्ट भिन्नता देखिन्छ।

महाधिवेशनका क्रममा खिचिएका आधिकारिक तथा सञ्चारमाध्यममा प्रकाशित वास्तविक तस्बिरहरूमा भने भाइरल तस्बिरमा देखाइएजति ठूलो संख्यामा जनसहभागिता देखिँदैन। वास्तविक तस्बिरहरूमा सहभागीहरूको संख्या तुलनात्मक रूपमा सीमित देखिएको छ, जसले भाइरल तस्बिरको दाबीलाई कमजोर बनाएको छ।

एमालेकै शीर्ष नेताले उक्त तस्बिर सामाजिक संजालमा पोष्ट गरिरहका छन् । तस्बिरको सत्यता नजाँची सामाजिक सञ्जालमा शेयर गर्दा यसले भ्रम सिर्जना गरेको विश्लेषकहरु बताउँछन् ।

एआई प्रविधि तीव्र गतिमा विकास भइरहेको सन्दर्भमा राजनीतिक, सामाजिक तथा सार्वजनिक चासोका विषयमा फैलिने यस्ता भ्रामक सामग्रीप्रति सबै पक्ष सचेत हुनुपर्ने देखिएको छ।

                                                                               वास्तविक तस्बिर

         एआईद्वारा निर्मित तस्बिर

सिफारिस