विराटनगर वारियर्सको पहिलो पराजय, चितवन ५ रनले विजयी

दियो पोस्ट  

काठमाडौँ, मंसिर २८ । टिभिएस एभरेष्ट प्रिमियर लिगको शुक्रबार भएको खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले पहिलो हार ब्यहोरेको छ । टस जितेर फिल्डिङ रोजेको विराटनगरले चितवनले दिएको १ सय ९७ रनको लक्ष्य नजिक पुगेर हार व्यहोरेको हो ।

चितवनको लक्ष्य पछ्याउने क्रममा विराटनगरबाट बबर हायतले सर्वाधिक ९० रनको योगदान गरे । विस्फोटक ब्याटिङ गरेका हायतले ४२ बलमा ८ छक्का र पाँच चौका प्रहार गरेका थिए । कप्तान पारस खड्का १९ रनमै आउट भएपछि दबाबमा रहेको विराटनगरको आशलाग्दा ब्याट्सम्यान करण केसीले राम्रो प्रस्तुत गर्न नसक्दा टिमले हार ब्यहोरेको हो । उनले २४ रनमात्र बनाउन सफल भए । अर्का ब्याट्सम्यान आशिफ सेखले ३० रन बनाए भने अनिल शाह १२ रनम पवेलियन फर्के ।

चितवनका लागि ललित भण्डारीले सर्वाधिक ४ विकेट लिए भने सागर ढकालले ३ विकेट लिए ।

पहिले ब्याटिङ गरेको चितवनले २० ओभर खेल्दै १ सय ९६ रन बनाएको थियो । विराटनगरसामु फराकिलो लक्ष्य प्रस्तुत गर्नका लागि चितवनका खेलाडी जोन सिम्पसनले सर्वाधिक ७८ रनको योगदान दिए । उनले ४४ बलमा पाँच छक्का र ६ चौका प्रहार गरेका थिए । त्यस्तै कप्तान दिपेन्द्रसिंह ऐरिले ३२ रन बनाउँदा सन्दीप सुनार र जर्ज स्कटले ३० र २४ रनको योगदान गरे । पाउल स्टर्लिङले भने १५ रन मात्र जोडे । विराटनगरका पारस खड्का, बसन्त रेग्मी, करण केसी र एक विदेशी खेलाडीले एक एक विकेट लिएका थिए ।