बर्दिवास, २ पुस । महोत्तरीको बर्दिवास–३ गौरीडाँडाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ ।
बिपी राजमार्गमा चल्ने सवारीसाधन जाँचका क्रममा दुई सवारीसाधनबाट १४७ बोतल डायलक्स र ६०० चक्की नाइट्रोभेट बरामद गरिएको हो । कटारीबाट काठमाडौँ जाँदै गरेको बा३ख ७४६८ नम्बरको मिनीबसबाट ४७ बोतल डायलक्स र कटारीबाट काठमाडौँ जाँदै गरेको बा ५ख १९६८ नम्बरको हाइसबाट १०० बोतल डायलक्स र ६०० चक्की नाइट्रोभेट बरामद गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले बताएका छन् ।
लागुऔषधसँगै सिरहाको विष्णुपुर गाउँपालिका–१ का २५ वर्षीय अमरकुमार शर्मा (ठाकुर)लाई पक्राउ गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । त्यसैगरी जाँचका क्रममा भन्सार छलेर ल्याइएको रजनीगन्धा, गुट्खा र परागसहित तीन बोरा सूर्तीजन्य वस्तु पनि प्रहरीले बरामद गरेको छ ।