काठमाडौं ।कप्तान पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्स काठमाडौँमा जारि एभरेष्ट प्रिमियर लिगबाट बाहिरिएको छ । सोमबार प्ले अफका लागि काठमाडौँ किंग्स इलाभेनसंग भएको खेलमा पराजय भएपछि विराटनगर लिगबाट बाहिरिएको हो ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगर पाँच विकेटले पराजित भएको हो । विराटनगरलाई पराजित गर्ने काठमाडौँ भने क्वालिफायरमा पुगेको छ । विराटनगरको हारमा चितवन लाभान्वित भएको छ । चितवन प्ले अफमा पुगेको छ ।
टस जितेर फिल्डिङ रोजेको काठमाडौँले १ सय एक रनको लक्ष्य पाएको थियो । ब्याटिङको निम्तो पाएको विराटनगरले १७ ओभर पाँच बलमा अल आउट हुँदै सय रन बनाएका थिए । विराटनगरका लागि सुमित महर्जनले सर्वाधिक २५ रन जोडे । यस्तै हरि बहादुर चौहानले २२ रन जोड्दा कप्तान पारस खड्काले २१ रन बनाए ।
विराटनगरलाई सस्तैमा समेट्न काठमाडौंका केभिन ओ ब्राएनले ३ विकेट लिए । यस्तै बिक्रम भुषाल, रोहन मुस्तफा र प्रदीप साहुले २÷२ विकेट लिए ।
लक्ष्य पछ्याउने क्रममा काठमाडौंका केभिन ओ ब्राएनले अविजित ४५ रन जोडे । यस्तै प्रदीप साहुले अविजित २१ रन जोडे जितसंगै काठमाडौंले ५ खेलबाट ८ अंक जोडेको छ । र, काठमाडौं लिगको दोस्रो स्थानमा रहदै क्वालिफायरमा पुगेको छ ।
काठमाडौंले अब फाइनल प्रवेशका लागि क्वालिफायरमा ललितपुर प्याट्रियट्ससंग खेल्नेछ । ललितपुर ८ अंक जोडेर शीर्ष स्थानमा रहदै क्वालिफायरमा पुग्न सफल भयो । ललितपुर र काठमाडौंबीचको खेल मंगलबार हुनेछ ।