प्रकाश सिलवाल
काठमाडौँ, पुष २ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको जारी तेस्रो वैठकमा बोल्ने अधिकांश सदस्यले सरकार र पार्टीको नेतृत्वले अपेक्षकृत रुपमा काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।
सरकारले गरेका राम्रै कामको प्रचार गर्न पनि पार्टी शक्ति परिचालन नभएको र यसबीचमा पार्टीलाई विधानानुसार सञ्चालन गर्नमा आनाकानी भएको आवाज स्थायी कमिटीका सदस्यले उठाएका हुन् । पार्टी विधानानुसार कम्तीमा तीन महीनामा हुनुपर्ने स्थायी कमिटीको बैठक नियमित हुन नसकेको, प्रदेश इञ्चार्ज र अध्यक्षहरुको जिम्मेवारी दिँदा विधानको मान्यता पालना नभएको, सरकारले विकास निर्माणका नीतिनिर्माण गर्दा पार्टीलाई परिचालन नगरेको, पार्टीको सरकार हो भन्ने आम अनुभूति दिलाउन नसकिएको इत्यादी आरोपहरु पार्टी नेतृत्व पंक्तिमाथि लगाइएको छ ।
वक्ताले तल्लो तहको एकता चाँडो गरिनुपर्ने, एशिया प्रशान्त शिखर सम्मेलनजस्ता विवादित कार्यक्रममा सरकार र पार्टी नेतृत्व मुछिने जोडिने अवस्था अन्त्य हुनुपर्ने विचार पनि बैठकमा राखे ।
अध्यक्षको प्रतिवेदनमा पूरक प्रतिवेदन प्रस्तुत गरेका नेता वामदेव गौतमले पार्टी र सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न अध्यक्षहरुको कार्यभार विभाजन हुनुपर्ने र जनताको चाहनानुसार विकास निर्माणका कामले गति लिनुपर्नेमा जोड दिएका थिए ।
उनले नेपालको संविधानको मार्गदर्शन तथा पार्टीले निर्वाचनमा अघि सारेको घोषणापत्रबमोजिम नयाँ युग निर्माण गर्ने उद्घोषका साथ नीति, कार्यक्रम र बजेट प्रस्तुुत हुन नसक्दा जनतामा निराशा उत्पन्न भएको उल्लेख गर्दै पार्टी र सरकारको नेतृत्व लिएका नेताहरुले निराशालाई चिर्दै आशा र उत्साह सिर्जना गर्न कदम चाल्नुपर्ने बताए ।
आजको बैठकमा नेता गौतम, अग्निप्रसाद सापकोटा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, मुकुन्द न्यौपाने, हरिबोल गजुरेल, गणेश साह, वेदुराम र शक्तिबहादुर बस्नेतले आआफ्नो विचार व्यक्त गरेका छन्
गत शनिबार शुरु भएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा छलफल जारी छ । प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, यसबीचमा सचिवालयबाट भएका निर्णय र जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समावेश छन् ।